एनआरएनए युकेलाई पंजीकृत सदस्यहरुले बुझाएको पैसा रोक्ने अधिकार छैन

एनआरएनए युके अध्यक्ष गाहामगरका निर्णयहरु व्यक्तिगत हुन्

२ वर्षs अगाडि

सुनिल बावु खड्का

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा हामी उत्रिदा राष्ट्रिय समन्वय समिति (एनसीसी) युके र अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई रकम तिर्ने गरि पंजीकृत सदस्यहरुले अनलाइनमा फारम भरेका थिए । सदस्यता ड्राइभ गर्दा उम्मेदवार साथीहरुले उनीहरुबाट आइसीसी र एनसीसीलाई रकम हुने गरि एक कार्यकालको १० पाउण्ड लिएका हौ । अनलाइन फारम विवरण भर्दा बेलायतवासी नेपालीहरुले आइसीसीको वेभसाइडको ट्रम एण्ड कन्डिसनमा इलेक्ट्रिकल हस्ताक्षर गरेका थियौ ।
एनआरएनएको जन्मभुमि बेलायतबाटै पंजीकृत सदस्यहरुबाट उठेको रकम आइसीसीमा नपठाएको भन्दै मार्च ६ सम्मको समय सीमा तोकेर संघ अध्यक्ष कुमार पन्तले हाम्रो कार्यसमिति अध्यक्ष प्रेम गाहामगरलाई सम्बोधन गरेको चेतावनी पत्र सामाजिक संजाल मार्फत सार्वजनिक भएको छ । यो पत्रले मेरो मन छियाछिया हुने गरि फाटेको छ । सामाजिक कार्यमा दिनरात खटिरहेका हामी माथि सार्वजनिक रुपमा पंजीकृत सदस्यहरुको रकम अवैधानिक राखेको आरोप लागिसकेको छ । यो रकम जुन प्रयोजनका लागि लिइएको थियो, त्यही प्रयोजनमा प्रयोग गर्न हामीले तत्काल आइसीसीमा पैसा पठाउने व्यवस्था गर्ने वातावरण बनाउन सम्पुर्ण कार्यसमितिका साथीहरु तथा अभियन्ताहरुलाई अनुरोध गर्दछु ।
झण्डै १२ हजार पंजीकृत सदस्यहरुबाट निर्वाचित उपाध्यक्ष हुं । यसरी जनताद्वारा निर्वाचित कार्यसमितिले आइसीसीमा पठाउनु पर्ने रकम होल्ड गरेर राखेको खबर र संघका अध्यक्ष कुमार पन्तको चेतावनी पत्रले एनआरएनएको जन्मथलोलाई लज्जित बनाउँदा म निकै दुखी छु । जनताको पैसा रोक्ने अधिकार अध्यक्ष गाहामगर, म उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेललाई छैन । यो सरासर गैरकानुनी कार्य हो । हामी यो आइसीसीलाई मान्दैनौ भन्ने हो भने हामी स्वयंम पनि अवैधानिक हुन्छौ । हामी सँग जनताको पैसा रोक्ने र चलाउने अधिकार छैन । न त कसैलाई निर्वाचनमा लड्न पाउने अधिकारबाट बंचित गर्न पाउने अधिकार नै छ ।

त्यसैले संघको माथिल्लो निकायमा अमुक व्यक्तिको पक्ष वा विपक्षमा लागेर पंजीकृत सदस्यहरुले आइसीसी सचिवालयमा बुझाउने रकम रोक्नु हुदैन । हामी कस-कसलाई हराउने वा जिताउने हो भनेर भोट दिन स्वतन्त्र छौ ।
कार्यसमितिले सिफारिस गरेका २५ प्रतिशत र १० प्रतिशतमा हाम्रा सबै प्रतिनिधि (डेलिगेट्स)लाई सचिवालयले स्वीकार गरेको छ । त्यो अन्त्यन्तै सकारात्मक कुरा हो । एनआरएनए अन्तर्गत बसेको विश्वभरका शाखाहरु मध्ये यो पनि एक शाखा हो । एनसीसी युकेले पंजीकृत सदस्यबाट रकम उठाउन आइसीसी सँग एमओयु गरेको थिएन् । अहिले पंजीकृत सदस्यहरुको रकम आइसीसीमा दाखिला गर्ने बेलामा एमओयुको बिषय उठाउनु उचित होइन ।


एनआरएनए भित्रका विवादको कारण कदापी बेलायत बन्नु हुदैन भन्ने मेरो मान्यता छ । बेलायतबासी पंजीकृत सदस्यहरुबाट म सुनिल बावु खड्का, कोषाध्यक्ष विष्णु खरेलसहित धेरै कार्यसमितिका साथीहलाई दैनिक रुपमा मोवाइलमा (आइसीसीलाई बुझाउने रकम दाखिला नभएका बारेमा) प्रश्नसहितका म्यासेज आइरहेका छन् । पंजीकृत सदस्यहरुको पैसाको तिमिहरुलाई राख्ने अधिकार कसले दियो ? भनेर सयौ प्रश्न तेर्सिएका छन । त्यसैले अव त्यो रकम एक मिनट पनि ढिला नगरि हामीले आइसीसीमा पठाउनु पर्छ । सदस्यहरुको पैसा रोक्ने अधिकार हामी सँग छैन र हामीले रोक्नु पनि हुदैन । तुरुन्त पठाउनु पर्छ ।

कार्यसमितिका बैठकमा यस्ता बिषयहरुले कहिले प्रवेश पाएनन् । हामीले एनआरएनए युकेले पंजीकृत सदस्यहरुको पैसा रोकेर राख्छ भन्ने परिकल्पना पनि गरेका थिएनौ । युकेबाट एनआरएनएमा कोही उम्मेदवार बन्छ भने हामीले अवश्य त्यसलाई सहयोग गर्नु पर्छ । तर, कसैको इसारामा यस्तो कार्य गर्नु हुदैन । पंजीकृत सदस्यहरुबाट सदस्यता बापत उठाइएको रकम कानुनअनुसार नै आइसीसीको हो । जसरी कुनै व्यक्ति विशेष सँग पैसा सापट लिएपछि उक्त रकम तिर्नु पर्छ । त्यसैगरी आइसीसीकै विधानमा रहेर उठाएको रकम आइसीसीको खातामा जम्मा गरिनु पर्छ । विधानले नै अटोमेटिक आइसीसीमा जाने संरचना बनाएको छ ।
एनआरएनए युके अध्यक्ष गाहामगरले कहाँ गएर कस्को पक्षमा भाषण गर्नु भयो त्यो बारेमा हामीलाई थाहा छैन । सिंगो कार्यसमिति कुनै व्यक्तिलाई जिताउनु पर्छ भनेर लागेको छैन । गाहामगर व्यक्तिगत रुपमा कोसँग नजिक हुनुहुन्छ त्यो गौण बिषय हो । कार्यसमितिले निर्णय नगरि अन्य मुलुकका आइसीसी सँग उहाँले गरेका संयुक्त हस्ताक्षर वा निर्णयहरु व्यक्तिगत हुन्, त्यसको जिम्मा कार्यसमितिले लिदैन् । कार्यसमितिले उहाँलाई यस्तो अधिकार दिएको छैन । गाहामगर जसरी पंजीकृत सदस्यहरुको भोटबाट निर्वाचित भए हामीहरु पनि त्यसैगरी निर्वाचित भएका हौ । पद फरक भएपनि जनताले हामीलाई सामुहिक रुपमा म्यान्डेट दिएका छन् ।
एनआरएनए भित्रका विवादका बिषयमा एनआरएनए युकेको आधिकारिक धारणा सार्वजनिक गर्नुपरे आपतकालिन बैठक डाक्ने अधिकार गाहामगरलाई छ । हामीले पनि इमरजेन्सी बैठक डाक्ने अनुरोध गरेका छौ । तर, त्यस्तो आपतकालिन बैठक डाकिएको मलाई थाहा छैन । एनआरएनए विवादका बारेमा कार्यसमितिले निर्णय नगरि अध्यक्ष गाहामगरले गर्ने कार्य व्यक्तिगत हुनेछन् । उहाँले जे वोले पनि कार्यसमितिका झण्डै दुई तिहाइ साथीहरु एनआरएनए युकेले पंजीकृत सदस्यहरुबाट उठेको पैसा दिनु पर्छ, दिनु पर्छ भन्नेमा छौ । (खड्का एनआरएनए युकेका उपाध्यक्ष हुन्)

© 2022 All Right Reserved DiasporaNepal