एनआरएनए विवाद : उपाध्यक्ष लामाको प्रतिनिधि कटौती गर्ने प्रस्ताबको चौतर्फी विरोध

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ताहरुले उच्चस्तरीय समितिका संयोजक शेष घले मार्फत उपाध्यक्ष सोनाम लामाद्वारा निर्वाचन तोकिसकेको अवस्थामा विभिन्न देशका प्रतिनिधि कटौती गर्ने प्रस्ताव प्रति खेद व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन भाड्ने गरि डेलिगेट्स (प्रतिनिधिहरु) कटौतीको प्रस्ताब षड्यन्त्र मात्र भएको भन्दै खेद व्यक्त गरेका हुन् ।
एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुले गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचनको प्रचार गर्न अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीको टिमले शनिवार आयोजना गरेको भर्चुअल ककस कार्यक्रममा करीव ४० देशका एनसीसी पदाधिकारीले प्रस्ताब प्रति आपत्ति जनाए । वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भिर दुर्घटना उन्मुख हुन लागेको भन्दै कुनै पनि सम्झौता नगरि तोकिएको मितिमा निर्वाचन गर्न सुझाए । गैरआवासीय नेपाली संघको गत अक्टोवरको लागि तय भएको १० औं महाधिवेशन पटकपटक रोकिदै आएको छ ।
राष्ट्रिय समितिका अध्यक्षहरुसहितका वक्ताहरुले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समिति डेलिगेट्सको बारेमा कुनै अप्रिय निर्णय लिए स्वयं संयोजक डा. शेष घले जिम्मेवार हुने चेतावनी दिए । लामाको प्रस्ताबमा ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्नु पर्ने उल्लेख छ ।

संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रकृया अघि बढी सकेको बताउँदै उच्चस्तरीय समितिका दुई जना सदस्य निर्वाचन रोक्न लागि परेको आरोप लगाए । उनले उच्चस्तरीय समितिका सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य म्यान्डेट नभएको बताए । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई कटौती गर्ने प्रस्ताब विधान विपरीत ल्याएको दावी गरे ।

संघका महासचिव डा. हेम राज शर्माले वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिएपछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहनु भएकाले निर्वाचन गर्न ढिलाई भएको जिकिर गरे । उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेको भन्द
खबरदारी गर्नु पर्ने बताए । उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर ४ वटा देश बाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घलेले संघको आन्तरिक मामिलामा हस्तक्षेप मात्र होइन् निर्वाचित कार्यसमितिको कार्यकारी अधिकार लिन खोज्नु गलत भएको बताए । उनले संघको निर्वाचन प्रकृया लम्बिदै जाँदा संघका मूल मुद्दाहरु समेत अन्योलपुर्ण बनेको बताए ।

संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बाहना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भैरहेको बताए । उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए । उनले मध्यपूर्व लगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिसामा गैरआवासीय नेपाली संघको अभियानमा लैजाने बताए । उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताए । क्षेत्रीले सहमतिको आधारमा नयाँ नेतृत्व छान्न सकिने तर्क गरे ।
गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले उच्चस्तरीय समिति गठन प्रकृया नै त्रुटिपूर्ण रहेको बताए । उनले उच्चस्तरीय समितिको सदस्यहरुको चयन गलत तरिकाले भएको हुँदा संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन नसकेको बताए । उनले कुनै उम्मेदवारको पक्षमा लागेका व्यक्तिहरुले निष्पक्ष निर्णय दिन नसक्ने बताए ।
गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरि गतिविधि अघि बढाएको बताए । उनले अफ्रिका क्षेत्रका प्रतिनिधि कटौतीको प्रस्ताव गरिनु अधिनायकबाटको चरम रुप भएको बताए ।

संघका सचिव तथा महासचिवका प्रत्यासी गौरीराज जोशी र सचिवका प्रत्यासी रामशरण सिमखडाले संचालन गरेको कार्यक्रममा संघका विभिन्न देशका एनआरएनए अध्यक्षहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
ककसमा केसी प्यानलतर्फबाट उम्मेदवार रहेका उपाध्यक्षहरुमा शर्मा, महेश श्रेष्ठ, डीबी क्षेत्री, धर्मराज अधिकारी, यास्मिन बेगम सैयद, रोशन थापा महासचिव गौरीराज जोशी, सचिव रामशरण सिंखडा, सचिव अजिब गुरुङ (ओम), महिला सचिव राधिका गुरुङ (टीका) र सचिव चिरञ्जिवी घिमिरे, कोषाध्यक्ष राजन त्रिपाठी, सहकोषाध्यक्ष नारायण सुवेदी, महिला सहकोषाध्यक्ष यमुना भट्टराई, युवा संयोजक मिलन छन्त्याल र महिला संयोजक संगीता मरहठ्ठा लगायतको उपस्थिती थियो ।

कार्यक्रममा पोषण बस्नेत (जम्बिया), आरपी पन्त (सिसेल्स), शिव पौडेल (जापान), अमृत क्षेत्री, रणध्वज लामा (कुवेत), नवराज भट्टराई (पपुवान्युगिनी), भबिन्द्र बस्नेत (थाइल्याण्ड), दिनेश जोशी (अष्ट्रेलिया), डमर यादव (साउदी अरब), हरिहर अर्याल (फ्रान्स), राजन त्रिपाठी (अमेरिका), विजय घिमिरे (अमेरिका), शैलेश घिमिरे (अमेरिका), राधिका गुरुङ (हङकङ), रविन्द्र बज्राचायए (अमेरिका), प्रमोद सिटौला (अमेरिका), विकल झा (ओमान), बिष्णुहरी घिमिरे, संजिव श्रेष्ठ, शान्तराज भण्डारी (क्यानाडा), डा. चिरन्जीबी खड्का (चेक रिपब्लिका), राजकुमार थापा (पोर्चुगल) लगायत वक्ताले बोलेका थिए 

निर्वाचन तालिका

गैरआवासीय नेपाली संघ ९एनआरएनए०को निर्वाचन कार्यतालिका गतसाता नै सार्वजनिक भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मार्च ४ र ५ तारिखबाट सुरु हुने भएको छ ।

कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ ।

फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

यसैगरी मार्च ११ मा उम्मेदवारले मनोनय फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए ।

सङ्घको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर रु १० लाख तोकिएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ ।

एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ ।

संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा बद्री केसी,रविना थापा र कुल आचार्य आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal