सन्दीपले सीपीएल गुमाउने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजमा आयोजना हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) पनि गुमाउने भएका छन् । यो सिजन ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएका सन्दीपले नेपाली राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय सिरिजका कारण सीपीएल गुमाउने भएका हुन् । द हन्ड्रेड र बिटालिटी ब्लास्ट गुमाएका सन्दीपले यो वर्ष तेस्रो प्रतियोगिता गुमाउने भएका छन् ।

सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले गुमाउने पक्का जस्तै छ । सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म चल्ने छ । नेपाली टोली अगष्ट अन्तिममा ओमान भ्रमणमा जाने तयारीमा रहेको छ । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ ।

त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर पाँच र आठ तारिखमा दुईवटा एक दिवसीय म्याच खेल्ने छ ।
त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्ने छ । सन्दीपले प्रतियोगिता गुमाउने निश्चित जस्तै भए पनि उनको टिम ट्रीनबेगो र सिपिएलले औपचारिक रुपमा फुकुवा गरेका छैनन् ।

यस सिजनको लागि सन्दीपलाई जमैका तलावाजले टोलीबाट रिलिज भएका थिए । गतवर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गतवर्ष ९० हजार अमेरिकी डलर अर्थात एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

सन्दीपले २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गए पनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो ।

पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेका थिएनन् ।

© 2022 All Right Reserved DiasporaNepal