‘क्रिसमस डे’को शुभकामना

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

photo : Evening standard

क्रिशमसको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुमा हार्दिक मंगलमय शुभकामना आज क्रिशमस, ईशाई तथा क्रिश्चियन धर्म मान्नेहरुको लागि सबैभन्दा ठूलो चाड । आज परमेश्वरका पुत्र ईशु ख्रिष्टको जन्म दिन पनि हो ।

ईशाई धर्मावलाम्बीहरु आज परमेश्वरका पुत्र ईशु ख्रिष्टलाई विभिन्न तरिकाले सम्झने गर्दछन् । यस अवसरमा मानिसहरु विभिन्न किसिमका कार्यक्रमहरु गरि भव्य तरिकाले मनाउने गर्दछन् । यसै अवसरमा सम्पूर्ण पाठकवर्गहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि, भाइचाराको विकास र शान्तिको लागि हार्दिक मंगलमय शुभकामना । इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । आज भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदीन हो ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ ।

यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ ।

सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको Snow Man विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ । नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा शनिबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । क्रिसमस डेका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासङ्घ दाबी छ । येशुले परमेश्वर नै प्रेम हो र प्रेम नै परमेश्वर हो भनेर मानव जातिलाई प्रेमको पाठ सिकाएका थिए । आजको अवस्थामा जहाँ घृणा, कलह, वैमनस्यता र वैरभाव चारैतिर व्याप्त छ, यस्तो विषम परिस्थितिमा हामीले येशुको शिक्षाको अनुसरण गर्दै मानव मात्रमा प्रेम, भाइचारा, आपसी सद्भाव र सौहार्दतालाई प्रश्रय दिई सम्पूर्ण मानव जातिको रक्षा र प्रगतिको लागि लागि परौं ।

एक पटक पुनः क्रिशमसको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुको उत्तरोत्तर प्रगति, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि डायस्पोरानेपालको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

© 2022 All Right Reserved DiasporaNepal