प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

२ वर्षs अगाडि

भीष्मराज ओझा


ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका उनीहरुबीच मङ्गलबार भेटवार्ता भएको हो ।

बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्ने आश्वासन दिए ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताएको सचिव पौड्यालले जनाए ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य आएका थिए । यही कात्तिक १४ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ यही कात्तिक २६ गतेसम्म चल्नेछ । प्रधानमन्त्री देउवा पाचौँ पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिव, उच्च सरकारी अधिकारी र सञ्चारकर्मीलगायत छन् ।

© 2022 All Right Reserved DiasporaNepal