कोप-२६ मा भाग लिन प्रधानमन्त्री देउवा बेलायतमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवासहितको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन बेलायत आइपुगेको छ । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक विदेश भ्रमणको सिलसिलामा शुक्रबार बेलायत आइपुगेका हुन् ।

देउवाको डेलिगेसनमा ६ जना सचिव छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल, अर्थसचिव मधुकुमार मरासिनी, ऊर्जासचिव देवेन्द्र कार्की, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका सहसचिव एबम शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की, प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट छन् ।

सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरिक्षक रामहरी श्रेष्ठसहित पाँच सुरक्षा अधिकृत र तीन जना सरकारी संचारमाध्यमका पत्रकार समेत छन् । अन्य सहभागी बेलायती दूतावासबाट सहभागी हुने भएका छन् ।

३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा कोप–२६ आयोजना हुँदैछ ।

प्रधानमन्त्री देउवाको कार्यक्रम सुची

प्रधानमन्त्री देउवाका भेटघाटहरु शनिबार बिहान देखि नै लन्डन दूतावासमा शुरु हुनेछन् । उनले बेलायती लर्ड- सांसदहरु , पूर्वमन्त्रीहरु , ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल पदाधिकारीहरुलगायतका बेलायतीहरुसँग भेट्ने कार्यक्रम छ । ती भेटघाटहरुपछि प्रधानमन्त्री देउवासँग एनआरएनए यूके र नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यहरुले पनि छुट्टै भेटबार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसदको नेपाल मामिला हेर्ने अन्तरपार्टी संसदीय समितिका तर्फबाट शनिबार साँझ बिशेष “रिसेप्सन” कार्यक्रमकोआयोजना हुँदैछ । उक्त रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधि लगायतका उच्च अधिकारीको सहभागिता हुने बुझिएको छ ।

आइतबार पनि प्रधानमन्त्री देउवाका भेटघाट निरन्तर हुनेछन् । त्यसैदिन दूतावासले प्रधानमन्त्रीको सम्मानमा दूतावासमा एक रिसेप्सन आयोजना गर्नेछ। जसमा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि आमन्त्रित छन् । त्यसैदिन वर्ल्ड इनर्जी काउन्सिलका अधिकारीहरुका साथै सोही दिन भूतपूर्व गोर्खाका प्रतिनिधि समेतलाई भेट्ने प्रधानमन्त्रीको कार्यक्रम छ ।

उता, ग्लास्गो साइड लाइनमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष जलवायु दूत जोन केरी लगायतलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ र २ मा कोप–२६ अन्तर्गतको विश्व नेताहरुको सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । उनले त्यहाँ नेपालको तर्फबाट जलवायु मुद्दा समेट्दै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

© 2022 All Right Reserved DiasporaNepal