प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेका छन् । स्कटल्याण्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका छन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बिदाइ अभिवादन गरे ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिवटेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी छन् ।

प्रधानमन्त्री देउवाले यही कात्तिक १५ र १६ गते हुने वल्र्ड लिडर समिटमा सम्बोधन गर्नेछन् । सम्बोधनको क्रममा उनले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा धारणा राख्नेछन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

© 2022 All Right Reserved DiasporaNepal