पर्यटन र पुँजी बजार सुधारमा गैरआवासीय नेपालीको भूमिका निर्णायक
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सार्वजनिक गरेको ‘देशको आर्थिक स्थिति पत्र’ ले नेपालको पर्यटन र पुँजी बजारको विकासमा गैरआवासीय नेपालीहरूको सञ्जाल र लगानीलाई प्रमुख आधार स्तम्भका रूपमा प्रस्तुत गरेको छ । नेपाललाई बाह्रै महिना घुम्न मिल्ने आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विश्वमा चिनाउन गैरआवासीय नेपालीहरूको विश्वव्यापी सञ्जाललाई परिचालन गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्नेमा स्थिति पत्रले जोड दिएको छ ।
सन् २०२५ मा करिब ११ लाख ५८ हजार विदेशी पर्यटक भित्रिएर उत्साहजनक सुधारको सङ्केत देखिए पनि कमजोर हवाई आबद्धता र पूर्वाधारका कारण पर्यटन क्षेत्रको पूर्ण क्षमता उपयोग हुन नसकेको अवस्थामा एनआरएनमार्फत अन्तर्राष्ट्रिय बजार व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।
त्यसैगरी, पुँजी बजारको दायरा फराकिलो बनाउन र दोस्रो बजारमा स्थिरता ल्याउन समेत गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
२०८२ फागुनसम्म बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७७.७ प्रतिशत पुगेको र नेप्से सूचकाङ्क २,९५०.१६ को बिन्दुमा रहेको सन्दर्भमा, उत्पादनमूलक कम्पनीहरूलाई बजारमा आकर्षित गर्न र सरकारी ऋणपत्रको कारोबारलाई प्रभावकारी बनाउन कानूनी सुधार गरी गैरआवासीय नेपालीको लगानीका लागि मार्गप्रशस्त गर्नुपर्ने स्थिति पत्रमा उल्लेख छ ।
पुँजी बजारमा बैंक र बीमा कम्पनीको हिस्सा खुम्चिँदै गएको अवस्थामा एनआरएनको लगानी र प्रविधिले बजारमा पारदर्शिता, विश्वसनीयता र स्थायित्व ल्याउन ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

