लन्डन दूतावासमा बालबालिकाले रमाई रमाई रोपे फूल बिरुवा

२ दिन अगाडि

डायस्पोरा नेपाल

लन्डन । सामान्यतया वयस्क मानिसहरुमात्रै पुग्ने  लन्डनस्थित नेपाली दूतावासमा शनिबार बिहानै देखि ससाना बालबालिकाहरुको लर्को लागेको थियो।

ती मध्ये थिए देवांशी  र देवांश। आफ्ना बाबा आमासंगै दूतावास आएका देवांशी  र देवांशले केन्सिङ्गटन प्यालेस गार्डेन्सस्थित   दूतावास परिसरमा  लाली गुराँसको बिरुवा रोपे।

“मलाई आशा छ, उनीहरूले आजको यो विशेष दिनलाई बिरुवा बढ्दै जाँदा सधैं सम्झनेछन्, र यसले उनीहरूलाई आफ्नो मातृभूमि नेपालसँग अझ नजिक बनाउनेछ,” पर्वत जिल्ला समाज युकेका अध्यक्ष पनि रहेका युवा व्यवसायी सुरज पौडेलले भने।

नेपाली दूतावासले पहिलो पटक  आयोजना गरेको ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रममा शनिबार बिहानै  बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिका भेला भएका थिए । आफ्ना अभिभावकसंग भेला भएका झन्डै ४० जना  बालबालिकाले रमाइ रमाइ दूतावास परिसरमा फूल तथा बिरुवा रोपे ।

बालबालिकाहरूलाई राजदूतावास भ्रमण गराउनुका साथै नेपालप्रतिको लगाव अभिवृद्धि गर्ने, नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्यले सो कार्यक्रम राखिएको बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले जनाए ।

” बालबालिकाहरुलाई नेपालसंग जोड्न  यो सुरुवात गरिएको हो। हाम्रो मुलुक, पर्वहरुको बारेमा र नेपाली पहिचानको बारेमा बालबालिकालाई जानकारी दिनको लागि पनि यो  कार्यक्रम आयोजना गरिएको हो।  बिरुवा रोप्ने एउटा सांकेतिक कुरा हो, मुख्य कुरा नेपालसंग जोड्ने नै हो, ” दुवाडीले भने।

कार्यक्रममा  जीवन विज्ञान युकेकी योग प्रशिक्षक सरिता शर्माले नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघले गत १५ एप्रिलमा पहिलो विश्व आरोग्य दिवस मनाएको स्मरण गर्दै यस्ता कार्यक्रमले बालबालिकालाई पर्यावरणीय स्वास्थ्यबारे सजग बनाउने बताइन्   ।

स्कटल्याण्डस्थित रोयल बोटानिकल गार्डेन एडिनबरामा कार्यरत वरिष्ठ वनस्पतिशास्त्री डा भास्कर अधिकारीले नेपाली दूतावासको यो अभियान सह्राहनीय भएको बताए।

“मोबाइलमा खेलेर समय बिताउने बालबालिकालाई माटो स्पर्श गर्न र बिरुवा रोप्न प्रोत्साहित गर्नु अत्यन्तै रचनात्मक काम हो।  यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक असर पार्छ,” उनले भने।

उनले नेपाली दूतावासलाई नेपालमा पाइने विभिन्न प्रजातिका बिरुवा रोपेर ‘नेपाल उद्यान’ बनाउन सुझाव पनि दिए।  ‘आवश्यक परे प्राविधिक सहयोग गर्न हामी तयार छौं,’ उनले भने।

नेपालको जैविक विविधता झल्किने गरी सन् २०१७ मा रोयल बोटानिकल गार्डेन एडिनबरामा ‘नेपाल गार्डेन’ औपचारिक रुपमा स्थापना गरिएको थियो।

बालबालिकाले नेपाली दूतावासको भ्रमण गर्ने अवसर पाएको र बिरुवा रोप्ने जस्तो वातावरण मैत्री काममा सहभागी हुन पाएको भन्दै बेक्स्ली नेपाली समाजकी अध्यक्ष बिजिता गौतमले खुसी व्यक्त गरिन्।

“नयाँ पुस्तालाई नेपालसँग भावनात्मक रुपले जोड्न यति  अर्थपूर्ण कार्यक्रम आयोजना गर्नु भएकोमा  कार्यवाहक राजदूत बिपिन दुवाडी र नेपाली दूतावास परिवारलाई धेरै धेरै धन्यवाद,” पौडेलले भने।

कार्यवाहक राजदूत दुवाडीले बालबालिकाले रोपेका बिरुवाको स्याहार सम्भार गर्न दूतावासले सक्दो प्रयास गर्ने जनाए ।

कार्यक्रमको सुरुमा बालबालिकाले ‘ओम’ गणेश बन्दना, सरस्वती बन्दना, गायत्री मन्त्र पाठ गर्नुका साथै नेपालको राष्ट्रिय गान गाएका थिए। बिरुवा रोप्ने कार्यक्रममा बालबालिकालाई तिनका अभिभावकले पनि सघाएका थिए।  कार्यक्रममा बालबालिका तथा अभिभावक सहित झन्डै १०० जनाको सहभागिता थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us