गैरआवासीय नेपाली संघद्वारा महिला मन्त्रीसँग भेट
गैरआवासीय नेपाली संघ (NRNA) को एक प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग मन्त्रालयमा शिष्टाचार भेटघाट गरेको छ। संघकी महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गएको उक्त टोलीले मन्त्री बादीलाई संघमार्फत भइरहेका सामाजिक कार्य र आगामी योजनाका बारेमा विस्तृत जानकारी गराएको हो।
भेटका क्रममा प्रतिनिधिमण्डलले विशेषगरी सडक बालबालिकाको क्षेत्रमा संघले सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र त्यसले पारेको सकारात्मक प्रभावबारे मन्त्रीलाई अवगत गराएको थियो। उक्त परियोजनामार्फत सडकबाट उद्धार गरिएका ५० जना बालबालिकालाई संरक्षण, शिक्षा र पुनर्स्थापनाको व्यवस्था मिलाइएको जानकारी दिइएको थियो। साथै, आगामी महिला विश्व सम्मेलनको तयारी, अपेक्षित सहभागिता र यसका लक्ष्यहरूबारे पनि छलफल भएको थियो।
मन्त्री सीता बादीले संघका गतिविधिहरूको प्रशंसा गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितका लागि गरिने कार्यक्रमहरूमा संघसँगको सहकार्यलाई अझ सुदृढ बनाएर लैजाने बताउनुभयो। उक्त भेटघाटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मि थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुबेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रको समेत उपस्थिति रहेको थियो।
