एनआरएनए–केआईओसीएचबीच बाल स्वास्थ्य सुधारका लागि सहकार्य सम्झौता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)बीच नेपालमा बाल स्वास्थ्य सेवा सुदृढीकरणका लागि सहकार्य गर्ने समझदारी भएको छ।
सम्झौताअनुसार एनआरएनएले विश्वभर रहेका नेपाली डायस्पोरासँग केआईओसीएचलाई जोड्दै ज्ञान, सीप तथा प्रविधिको आदान–प्रदानमा सहयोग गर्नेछ ।
यसका साथै बाल चिकित्सा क्षेत्रमा आवश्यक उपकरण तथा सर्जिकल सामग्री उपलब्ध गराउने, र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
दुवै संस्थाबीचको आपसी समझदारीअनुसार अन्य विभिन्न सहकार्यात्मक कार्यक्रमहरू पनि आगामी दिनमा सञ्चालन गरिने जनाइएको छ । यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
समझदारीपत्रमा केआईओसीएचका अध्यक्ष भगवान कोइराला र एनआरएनएका अध्यक्ष हेम राज शर्माले हस्ताक्षर गरेका छन् ।
