प्रवासी नेपाली सम्पर्क मञ्च यूकेले दूतावासमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

२ हप्ता अगाडि

डायस्पोरा नेपाल

लन्डन । प्रवासी नेपाली सम्पर्क मञ्च यूकेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई एक ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा लन्डनस्थित नेपाली दूतावास पुगेर मञ्चको टोलीले कार्यवाहक राजदूत विपिन दुवाडी मार्फत नवनिर्वाचित प्रधानमन्त्री शाहलाई ९ बुंदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत दुवाडीले यथासक्य चाँडो सम्बन्धित निकायसम्म पुर्‍याइदिने आश्वासन दिएको मञ्च अध्यक्ष पोखरेलले जानकारी दिए ।

मञ्चले एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री लगायतका राजनीतिक व्यक्तिहरूलाई पूर्वाग्रही रूपमा गिरफ्तार गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

‘विधिको शासनको खिल्ली उडाउने यस्ता गतिविधि तुरुन्त बन्द गरी राजनीतिक नेताहरूलाई तत्काल रिहा गरियोस् भन्ने हाम्रो जोडदार माग छ । अर्कोतर्फ, कार्की आयोगले नै दोषी ठहर गरेका अन्य व्यक्तिहरूप्रति सरकार मौन रहनु यस सरकारको नियत झनै उजागर भएको देखिन्छ’, ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा झण्डै दुई तिहाई बहुमतसहित प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिंदै नेपाली जनताको अपेक्षाअनुरुप देशलाई स्थायित्व, सुशासन तथा समृद्धिको मार्गमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us