एनआरएन बुझेका पूर्व पत्रकार डा कँडेल महान्यायाधिवक्ता नियुक्त
काठमाडौँ – बेलायतबाट उच्च शिक्षा हासिल गरेका डा नारायण दत्त कँडेल नेपाल सरकारको महान्यायाधिवक्ताको पदमा नियुक्त भएका छन्।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त गरेको हो।
बागलुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे । उनले सन् २०२३ मा उत्तर आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका हुन् ।
पत्रकारितादेखि कानूनसम्म
कंडेलले आफ्नो व्यवसायिक यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए । २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपालवाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए ।
२०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति रहेका उनले । २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिए। त्यससँगै उनको व्यावसायिक कानुनी यात्रा सुरु भयो ।
उनले फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल, मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरूसँग आबद्ध भएर पनि काम गरेका थिए ।
बेलायतमा उनले एनआरएनए युकेको उपाध्यक्षको रुपमा पनि काम गरेका थिए।
बेलायतबाट नेपाल फ़र्किए पछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारको रुपमा पनि सक्रिय थिए।
उनले आइतबार नै कायममुकायम प्रधानन्यायाधिश सपना मल्ल प्रधानसँग पद तथा गोपनियताको सपथ लिएका छन् ।
