बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन्

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

डा.अन्जली पण्डित

बाल क्यान्सररोग विशेषज्ञ

बालबालिकाको क्यान्सर भन्नाले जन्मदेखि १८ वर्ष उमेरसम्मका बालबालिकामा देखिने क्यान्सरलाई बुझिन्छ र यस उमेर समूहका बालबालिकाको उपचारको जिम्मा बालरोग विशेषज्ञले नै लिने गर्छन्। बालबालिकामा सबैभन्दा धेरै देखिने क्यान्सर रक्त क्यान्सर (लुकेमिया) हो, जुन विशेष गरी दुईदेखि दस वर्ष उमेर समूहमा बढी पाइन्छ। दोस्रो स्थानमा ब्रेन ट्युमर र तेस्रोमा लिम्फोमा पर्दछन्। यसपछि आँखाको, मृगौलाको, कलेजोको क्यान्सर हुन सक्छन् भने दस वर्ष माथिका किशोरकिशोरीमा हड्डीको क्यान्सर (सार्कोमा) बढी देखिन्छ। बालबालिकाको क्यान्सर ठूला मानिसको भन्दा भिन्न प्रकृतिको हुने भएकाले निको हुने सम्भावना पनि धेरै हुन्छ।

लक्षणहरू क्यान्सरको प्रकारअनुसार फरक हुन्छन्। रक्त क्यान्सरमा लामो समयदेखि निको नहुने ज्वरो, शरीर सेतो हुँदै जाने, थकान, खानामा अरुचि, हड्डी तथा जोर्नी दुख्ने, र शरीरमा धेरै ठाउँमा गोलो गोलो दागहरू देखिने जस्ता लक्षणहरू हुन सक्छन्। ब्रेन ट्युमरमा बिहान उठ्ने वित्तिकै वाकवाकी हुने, आँखा धमिलो देख्ने, सन्तुलन बिग्रिने र हिँड्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। लिम्फोमामा घाँटी, काखी वा कम्मरमा गिर्खाहरू आउन सक्छन् भने हड्डीको क्यान्सरमा ढाड वा खुट्टा दुख्ने, सामान्य खेल्दै गर्दा पनि हड्डी भाँचिने जस्ता समस्या देखिन सक्छन्। साना बालबालिकामा हुने आँखाको क्यान्सरको अवस्थामा आँखामा सेतो डट देखिनु मुख्य लक्षण हो।

बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव छ। समयमै उपचार थालियो भने ८० देखि ९० प्रतिशतसम्म पूर्ण रूपमा निको हुन सक्छ। धेरैजसो अवस्थामा केमोथेरापी नै मुख्य उपचार हो। केमोथेरापीलाई डराउनु पर्दैन, बालबालिकाले यसलाई सहजै सहन सक्छन्। ब्रेन ट्युमरको अवस्थामा पहिले सर्जरी गरेर ट्युमर हटाइन्छ, त्यसपछि रेडियोथेरापी र केमोथेरापी गरिन्छ। यी सबै उपचार नेपालमा नै अन्तर्राष्ट्रियस्तरको प्रविधिबाट एउटै छानामुनि उपलब्ध छन्। अमेरिका वा युरोपमा जुन उपचार पद्धति छ, त्यही उपचार नेपालमा पनि सम्भव छ। उपचारको अवधि क्यान्सरको प्रकारअनुसार फरक हुन्छ। रक्त क्यान्सरको उपचार अवधि केही लामो हुन्छ, तर औषधि सरल हुन्छ।

बालबालिकामा क्यान्सर किन हुन्छ भन्ने अहिलेसम्म एकिन कारण पत्ता लागेको छैन। यो जो कोहीलाई पनि हुन सक्छ, कुनै खास परिवार वा समुदायमा मात्र हुन्छ भन्ने छैन। जंक फुडले मात्र हुन्छ भन्ने आधार नभए पनि खानपान र जीवनशैलीमा ध्यान नदिए स्वास्थ्यमा असर पर्छ भन्ने चाहिँ निश्चित छ। आनुवंशिक कारणले ब्रेन ट्युमर हुने सम्भावना पनि हुन्छ, जसको अवस्थामा परिवारका अन्य सदस्यको जेनेटिक परीक्षण गर्न सकिन्छ।

उपचारका क्रममा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण छ। क्यान्सर भएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भीडभाड र संक्रमणबाट जोगाउनु अति आवश्यक छ। क्यान्सरले भन्दा पनि संक्रमण नै धेरै अवस्थामा जोखिमको कारण बन्न सक्छ। साथै, क्यान्सर निको हुँदैन भन्ने भ्रम तोड्नुपर्छ। हामीले उपचार गरेका सयौं बालबालिका अहिले सामान्य जीवन बिताइरहेका छन्, कोही डाक्टर बन्दै छन्, कोही इन्जिनियर, कोही विदेश पनि गइसकेका छन्।

नेपालमा हरेक वर्ष करिब १४०० देखि १५०० नयाँ बाल क्यान्सरका बिरामी थपिन्छन् तर उपचारको पहुँचमा केवल ४०० देखि ५०० जना मात्र आउँछन्। बाँकी बिरामी उपचारबाट बञ्चित हुनुको मुख्य कारण आर्थिक अभाव र सचेतनाको कमी हो। सम्पन्न परिवारले उपचार गर्न सक्ने भए पनि विपन्न परिवारका बालबालिकाका लागि राज्यको सहयोग अझै अपर्याप्त छ। त्यसैले अभिभावकहरूले आफ्ना बच्चामा कुनै पनि असामान्य लक्षण देखेपछि ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनुपर्छ। क्यान्सर हुनु कसैको गल्ती होइन, यसको कारण अहिलेसम्म पत्ता नलागेकाले पछाडि नलागिकन समयमै उपचार थाल्नु नै सही विकल्प हो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us