नेपालीहरुको दशैं : दिनभर साइत

३ वर्षs अगाडि

जीएनएन

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिकाे कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी हुन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका हुन् । ‘दिनभर टीका लगाउन सकिने’ दशैँको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।

टीकाको उत्तम साइत विहान १० बजेर २ मिनेटमा रहेको भएपनि दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउनुअघि देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गा तथा जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ।

© 2022 All Right Reserved DiasporaNepal