हार्लोमा दशैँ विशेष कार्यक्रम : आपत्कालिन राहत संकलन

२ हप्ता अगाडि

डायस्पोरा नेपाल

युके – हार्लो नेपाली समुदायद्वारा आयोजित भव्य दशैँ विशेष कार्यक्रम हार्लो क्रिकेट क्लबमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि हार्लो क्षेत्रका सांसद क्रिस भिन्स थिए, जसले नेपाली समुदायलाई हार्लोमा हार्दिक स्वागत गर्दै एकता र सहभागिताको सन्देश दिए । युकेमा हालै भईरहेको विभाजनकारी राजनीतिप्रति चिन्ता ब्यक्त गर्दै उनले समाज विभाजन गर्ने यस्ता अवान्छित सोचाईहरू प्रति सचेत रहन आग्रह पनि गरे । विशेषगरी अहिलेको विभाजनकारी राजनीतिक परिवेशमा समाजमा विविधता र एकता आवश्यक छ भन्दै उनले नेपाली समुदायप्रति समर्थन र सहकार्य निरन्तर रहने बताए ।

नेपाली गीत–संगीत, नृत्य, भजन, राफल तथा लंगुरबुर्जाको रमाइलो खेलले कार्यक्रमलाई जीवन्त बनाएको थियो। सांस्कृतिक प्रस्तुतिमा सोनिता केसी, रोजलिन रायमाझी, प्रिशा सिम्खडा, सीमा सिम्खडा, रुबी पुडासैनी, ग्रिशा र सलीशा सुदाकर, सदमा काफ्ले, आध्या काफ्ले लगायतका कलाकारहरूले रोचक प्रस्तुति दिएका थिए।

हार्लो नेपाली समाजको विशेष पहलमा नेपालमा आपत्कालिन राहत सहयोगका लागि दुइ हजार पौण्ड संकलन गरिएको घोषणा गरिएको थियो। उक्त रकम प्रदीप सिम्खडा र राम रायमाझीको संयोजनमा नेपाल पठाइने जानकारी दिइयो।

त्यस्तै, एनआरएनए युकेको अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरूको बेलायती समाजमा समायोजन, एकता र नेपाली संस्कृतिको संरक्षण अत्यन्त महत्वपूर्ण पक्ष रहेको बताए । “समुदायबीचको एकताले विदेशमा पनि राष्ट्रप्रतिको प्रेम र भावना बलियो बनाउँछ,” उनले भने ।

कार्यक्रममा एनआरएनए युकेको भाषा साहित्य विभाग प्रमुख गोपी सापकोटासहित हार्लोमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सुरज पुडासैनीले गरेका थिए भने अध्यक्षता हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us