एनआर एनए युके का सदस्यहरु ४ हजार नाघे , निर्वाचन र अधिबेशन समयमै : निर्वाचन संयोजक ढकाल

१० महिनाs अगाडि

तिलक भट्टराई

लण्डन । गैर आवासीय नेपाली संघ युकेका सदस्यहरुको आइतबार प्रथम नामावली प्रकाशित हुँदै छ । २३ जुन राति ११ः५९ बजेसम्म सदस्यता आह्वान गरिएकोमा यस अवघिमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । अहिलेसम्म ४ हजार १ सय ४९ जनाको आवेदन स्वीकृत भएको सदस्यता प्रमाणीकरण समितिका संयोजक तथा प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवि ढकालले जानकारी दिए ।

 नयाँ आवेदन दिएकाहरुमा अहिले २७३ जनाको स्वीकृत हुन बाँकी रहको छ । सदस्यता शुल्कका कारण स्वीकृत नभएको पनि संयोजक ढकालले जानकारी दिए । सोमबार साँझ ५ बजेभित्र स्वीकृत नभएका तर एप्समा दर्ता भएका सदस्यहरुलाई समय दिइएको छ । सो अवाधिमा पनि आवेदकहरुले कुनै प्रक्रिया अगाडि नबढाए ती आवेदन रद्द हुने पनि ढकालले बताए । यसैगरी निर्वाचन समितिले आइतबार सदस्यहरुको प्रारम्भिक नामावली प्रकाशन गरिएको  छ । सोमबार अन्तिम नामावली प्रकाशन हुने छ । सो अवाधिमा पनि आवेदकहरुले कुनै प्रक्रिया अगाडि नबढाए ती आवेदन रद्द हुने पनि ढकालले बताए ।

उम्मेद्वारी दर्ता १ जुलाई ३ बजे सम्म, २ जुलाई दिउसो १ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन एनआरएनए यूके वेवसाइटमार्फत २ जुलाई सांझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई सांझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ ।

निर्वाचन समितिका अनुसार, २२ जुलाई बिहान ००।०० देखि २२ जुलाई सांझ ६ बजेसम्म स्मार्ट एनआरएन एपमार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ ।
मतदानको भोलिपल्ट २३ जुलाई दिउसो एक बजे परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त ढकालले जानकारी दिए ।

ढकालको संयोजकत्वमा रहेको निर्वाचन समिति सदस्यमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एबम पत्रकार बिपिन निरौला रहेका छन् ।

यसैबीच, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्काले सदस्यता आवदेन दिएकाहरुलाई धन्यवाद दिएका छन् । खड्काले एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा ठूला चुनौतीहरु रहेको र अहिले धेरै हदसम्म आफूहरु सफल भएको बताएका छन् । उनले भनेका छन् ‘चुनौती नै चुनौतीका बीच एनआरएनए यूकेको निर्वाचन होला की नहोला भन्ने धेरैलाई लागेको थियो । मूलधमिलाउनेहरु डिलमा बसेर रमिता हेर्दै थिए । हिलो छ्याप्ने काम भैरहेको थियो तर समाजले दिएको जिम्मेवारी पुरा गर्छु भनेर निर्भिक भएर लागेको थिए । कार्यसमितिको सहयोग र वेलायतस्थित नेपाली समुदायले दिएको मायाममताले कोमामा रहेको गैरआवासीय नेपाली संघ यूकेको पुर्नरजन्म भएको छ । आगामी जुलाई महिनामा हुने निर्वाचनको लागि चार हजार भन्दा बढीले सदस्यताको लागि आवेदन दिएका छन् । संस्थामा पहिलो पटक लागू भएको फेसभेरिफिकेशन सिस्टम सफल भएको छ । संघले शुरु गरेको स्मार्ट एनआरएनए अन्तर्गतको एमआईएस सिस्टम सफल भएको छ जसले गर्दा संघको नेतृत्व सर्वसाधारणको पउँचसम्म पुगेको छ । हाम्रा व्यक्तिगत विवरणहरु यसअघि कसैको घरघरमा हुन्थे तर यस पटक देखि सुरक्षित रुपमा अन्तराष्ट्रीय मापदण्ड अनुरुप डेटा समेत सुरक्षित गरिएको छ । जुलाई महिनामा हुने निर्वाचनले संस्थाको पुननिर्मार्णलाई थप गति दिनेछ भन्ने विश्वास लिएको छु ।’

यसैगरी अध्यक्ष खड्काले कठिन अवस्थामा पनि सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आफूहरुले एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल मन्त्र नबिर्सिएको पनि प्रष्ट पारेका छन् ।

यसैगरी, नागरिकता ऐन कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै एनआरएनए नागरिकताले सम्पतिको अधिकारलाई सुरक्षित गरेको र बंशजको नागरिकता पुनः प्राप्तिको  लागि र हाम्रा सन्ततिलाई नेपालसँग सदावाहार जोडि राख्नको लागि  एनआरएनए अभियानको थप आवश्यकता छ । यो अभियानमा सरिक बन्न पनि आग्रह गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal