अर्थतन्त्रमा सुधार देखिन थालेसँगै सेयर बजार उत्साहित

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

सोमबार राष्ट्र बैंकले प्रकाशित गरेको पुस महिनासम्मको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले मुलुकको अर्थतन्त्र क्रमिक रुपमा सुधार भइरहेको देखाएपछि सेयर बजारमा समेत उत्साहको माहोल बनेको छ। 

राष्ट्र बैंकको तथ्यांकले मुलुकको विदेशी मुद्रा सञ्चिति १३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको देखाएको छ। 

केही समय अघिसम्म विदेशी मुद्रा सञ्चितिमा ह्रास आएकै कारण मुलुक श्रीलंका जस्तो आर्थिक संकटमा फस्ने हो की भन्ने सर्वत्र चिन्ता थियो।

यो सूचकमा सुधार आएसँगै राष्ट्र बैंकले लिइरहेको कडाइका नीतिमा समेत खुकुलोपना आउन सक्ने र सेयर बजारमा लाभ पुग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। 

यसैबीच, मंगलबार नेप्से नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ।

यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ।

मंगलबार २६० वटा धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस दिन बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः २८३ रुपैयाँ ८० पैसा, २६७ रुपैयाँ ३० पैसा, २७८ रुपैयाँ ३० पैसा र दुई हजार ५६७ रुपैयाँ १० पैसा पुगेको छ। 

यस दिन सर्वाधिक मूल्य घट्नेमा १२.५% आइसिएफसी फाइनान्स डिवेञ्चर २०८३ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ५.९० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य एक हजार १२ रुपैयाँ २० पैसामा झरेको छ।

यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ८३५ रुपैयाँमा १२ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको ३१४ रुपैयाँ ४० पैसामा ११ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन लगानी समूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ। 

त्यस्तै, वित्त समूहको परिसूचक ५.९४ प्रतिशत, जलविद्युत समूहको परिसूचक ५.३३ प्रतिशत र विकास बैंक समूहको परिसूचक ५.९६ प्रतिशतले बढेको हो।

© 2022 All Right Reserved DiasporaNepal