टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो ।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो ।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन् । भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो ।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो ।

यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन् । टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ ।

उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

‘भूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,’ युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन् ।

स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिइन् । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन् ।

विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन् ।

ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो । बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गरिन् ।

‘पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन । ‘हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ,’ उनले भनिन् । 

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास प्रवाह प्रणालीमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन् ।

टर्कीका ऊर्जा मन्त्री फातिह डोन्मेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो ।

सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३,००० मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ ।

टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ ।

टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस सङ्कटको घडीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेका छन् र प्रकोपबाट प्रभावित धेरै परिवारहरूलाई ‘पहुँच चुनौतीपूर्ण भएको क्षेत्रमा मानवीय सहायता अत्यावश्यक रहेको’ बताएका छन् । 

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। नेदरल्यान्ड र रोमानियाका उद्धारकर्मीहरू यसअघि नै प्रकोप स्थलतर्फ जाँदै छन् । यूकेले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाउने जनाएको छ ।

फ्रान्स, जर्मनी, इजरेल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानले जस्तै सहयोगको प्रस्ताव गरेका छन् । ती सहरहरूमा कम्तीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमन सोलुले प्रारम्भिक रूपमा १० विभिन्न सहर भूकम्पका कारण प्रभावित भएको बताए। ती क्षेत्रका विद्यालयहरू कम्तीमा एक साताको लागि बन्द गरिएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal