आज गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । 

नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । 

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।  लामिछाने नेपाली नागरिक नै नभएको भन्दै सांसद हुन अयोग्य भएको जिकिर निवेदकहरूको छ । 

चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त भएका थिए । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको कुरा २०७५ असार ६ मा अध्यागमन विभागलाई जानकारी गराएका थिए । 

अमेरिकाको नागरिकता त्यागेपछि नागरिकता ऐन–२०६३ को दफा ११ को प्रक्रियामा गएर लामिछानेले फेरि नागरिकता लिनुपर्ने वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए । डा भण्डारी भन्छन्–‘प्रक्रियामा गएर नागरिकता लिनै पर्छ, अमेरिकाको नागरिकता लिएसँगै नेपालको कायम नरहने हुनाले अहिले उनी नेपाली नागरिक हैनन् ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us