कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ : प्रवक्ता डा. प्रकाशशरण महत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । आइतबार तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका प्रवक्ता डा। महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए । ‘विभिन्न रूपरङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागिपर्नेछ,’ उनले भने ।

तारुकाको विकासको आवश्यकतामा आफू परिचित रहेको उल्लेख गर्दै डा महतले भने, ‘यहाँ खानेपानीको आवश्यकता छ, १२ महिना चल्ने सडकको आवश्यकता, गाउँगाउँलाई जोड्ने सडकको खाँचो छ, त्रिशूली नदीमा मोटरेबल पुल चाहिएको छ, कांग्रेसको नेतृत्वमा धेरै काम भएकोले यहाँको आवश्यकता पनि पूरा हुनेछ ।’

गोरु जुधाइ परम्परा सांस्कृतिक, पर्यटकीय महत्त्वको रहेकाले यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने प्रवक्ता डा महतले जोड दिए । बागमती प्रदेशसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले सांस्कृतिक महत्त्वको गोरु जुधाइ मेलाले स्थानीय पर्यटनको विकासमा भूमिका खेलेको बताए ।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गोरु जुधाइ मेलालाई व्यवस्थापन र गोरु जुधाउन ल्याउने किसानका लागि पालिकाले यो वर्ष रु आठ लाख बजेट दिएको जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us