विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न कांग्रेसको बैठक सुरु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान साढे ८ बजेदेखि नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा देउवासहित दुई उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालालगायत नेताहरू सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले आज नै संसद्मा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ देउवा निवास पुगेर कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सो भेटमा देउवाले पार्टीमा छलफल गरेर यसबारे निर्णय गर्ने जवाफ प्रचण्डलाई दिएका थिए । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिनेबारे कांग्रेसका नेताहरू विभाजित रहेका छन् । तर, पार्टीभित्र ‘विश्वासको मत दिनुपर्छ’ भन्नेहरूको मत बलियो रहेको छ ।
यसअघि देउवा सरकारमा अर्थमन्त्री रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि देउवा र पौडेललाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
