३ वर्ष ठप्प चीनको सीमा खुल्यो

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

करिब ३ वर्षपछि चीनले अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि आफ्नो सिमाना खुला गरेको छ।

चीन जाने यात्रुहरूले अब क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। देशमा कोरोनाभाइरस सङ्क्रमण दर बढिरहेको स्थितिमा कोभिड नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै चीनले सन् २०२० को मार्च महिनामा लागेको सीमामा प्रतिबन्ध आइतबारबाट खुला गरेको हो।

यद्यपि, उनीहरूले यात्रा गर्नुअघि ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाण साथमा बोक्नुपर्ने हुन्छ।

सरकारको यो कदमलाई अधिकांशले परिवारसँग पुनर्मिलनको अवसरका रूपमा स्वागत गरेका छन्।

रोयटर्सका अनुसार एक जना महिलाले आफूले वर्षौँदेखि आमाबाबुलाई (उनीहरूमध्ये एक कोलन क्यान्सर पीडित हुनुका बाबजुद) नभेटेकाले सीमा खुलेसँगै आफू निकै खुसी भएको प्रतिक्रिया दिइन्।

चन्द्र नयाँ वर्ष ‘चुन युन’ को सुरूवातसँगै चीनले देश पुनः खुला गरेको हो। महामारीअघि यस समय अधिकांश मानिसहरू आफ्नो परिवारसँग समय बिताउन विश्वभरबाट चीनस्थित घर फर्कन्थे।

हङकङबाट मात्रै ४ लाख मानिसहरू आगामी साताहरूमा मुख्य भूमि चीनमा यात्रा गर्ने अपेक्षा गरिएको छ। 

बेइजिङ र सियामेनलगायत सहरहरूतर्फ उडान भर्नका लागि मानिसको लामा लाइनहरू हुने ठानिएको छ।

यस चिनियाँ नयाँ वर्षमा दुई अर्ब मानिसहरूले चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ। उक्त सङ्ख्या गत वर्ष यात्रा गर्नेहरूको सङ्ख्याभन्दा दोब्बर हो।

विगत तीन वर्षमा चीनले विश्वको सबैभन्दा कडा कोभिड स्वास्थ्य नीतिहरू अपनायो। जसअन्तर्गत कयौँ लकडाउन, पटकपटक कोभिड परीक्षणको आवश्यकतालगायत नियम थिए जसले देशको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पारेको थियो।

चीनले आफ्नो कोभिड शून्य नीतिका मुख्य कडा प्रतिबन्धहरू खुकुलो बनाएदेखि त्यहाँ अस्पताल र शव दाह गृहहरूमा चाप बढेको विवरणहरू सार्वजनिक भएका छन्।  तर, राज्यले त्यहाँको सङ्क्रमण दर सार्वजनिक गर्नबाट रोक लगाएको छ। शनिवार त्यहाँ जम्मा दुई जनाको मृत्यु भएको जनाइएको छ।

शनिवार नै चिनियाँ सरकारले सङ्क्रमण दरबारे आलोचना गर्ने एक हजारभन्दा बढी सामाजिक सञ्जालका खाताहरूमा प्रतिबन्ध लगाएको थियो।

सङ्क्रमण दरको अपेक्षित वृद्धि र त्यहाँका मानिसको चीन बाहिर यात्राले युरोपेली मुलुक, अमेरिका, भारत लगायत धेरै देशहरूलाई चीनबाट भित्रने मानिसहरूमा कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गर्न प्रेरित गरेको छ।

© 2022 All Right Reserved DiasporaNepal