ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी 

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । शनिवारबादेखि काठमाडौँको नयाँ बानेश्वरमा एमालेका नवनिर्वाचित सांसदहरूका लागि गरिएको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको सरकार निर्माणको काममा हात नहाल्न आग्रह गरेका छन् । उनले सङ्गठित ढङ्गले नेपालमा अस्थिरतालाई अगाडि बढाइरहेका बेला असाधारण ढङ्गले त्यो कोर्सलाई परिवर्तन गरेको सांसदहरुलाई सुनाए । ओलीले कुनै पनि छिमेकी देशको नाम नलिई नेपालमा जुन सरकार बन्छ त्यो सरकारलाई सहयोग गरेर अगाडि बढ्न आग्रह गरेका छन् । 

यस्तो छ छिमेकी देशप्रति एमाले अध्यक्ष ओलीको टिप्पणी : 

नेपालमा नेपालीले सरकार बनाउन नपाउने, सरकार बनाउन नपाउने यस्तो पनि कहीँ हुन्छ ? त्यसलाई रोक्दै अहिले हामी नेपालीले सरकार बनाएका छौँ । यो नेपालीको सरकार हो, हामीले आफ्नै सरकार बनाउन सफलता हासिल गरेका छौँ यो ठुलो कुरा हो । अहिलेको परिवर्तनको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी नेपालीले नेपालको सरकार बनाएका छौँ । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो । हामीले बनाएका छौँ सरकार । यो ज्यादै महत्त्वपूर्ण उपलब्धि हो र राष्ट्रिय रूपमा हामीले गरेको ज्यादै ठुलो प्रतिरोध हो । यो बाह्य हस्तक्षेपका विरुद्ध हाम्रो स्वाधीनता, हामी सार्वभौम नागरिक हौँ भन्ने कुराको अनुभूति यो सानो कुरा हैन । नेपाली जनता अहिले किन खुसी छन् ? यसै कारण कि नेपालीले सरकार बनाएको छ ।  

तपाईंहरुलाई थाहा छ अहिले पनि हाम्रा साथीहरू ढोकाबाट छिर्न नसकेर कम्पाउन्ड माथिबाट आएर यसरी सरकार बनाउन कहाँ पाइन्छ भनिरहेका छन् । मैले यो किन भनिरहेको छु भने हाम्रा छिमेकीहरूबाट हामी यस्तो खालको कुनै पनि क्रियाकलाप अपेक्षा गर्दैनौँ । हामी हाम्रो राष्ट्र आफ्नो ढङ्गले चलाउँछौँ तपाईंहरु जे सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् । तर आन्तरिक मामिलामा हात हाल्ने चलाउने काम नगर्नुस् । स्ट्रेट कुरा । यो नगर्नुस् । पत्रपत्रिका हेरिसक्नु छैन । कूटनीतिक गतिविधिहरू भनिसक्नु छैन । यस प्रकारका तरिकाहरू बन्द गरौँ, मित्रको हिसाबले चलौँ । सार्वभौमिक समानताको सिद्धान्त अनुसार चलौँ । हामी कसैमाथि अर्घेल्याँई गर्न गइराखेका छैनौँ । हामीमाथि अर्घेल्याँई नहोस् भन्ने कुरा मात्र राख्न चाहेको छु । हामीमाथि अर्घेल्याँई नहोस् । हामी हाम्रा छिमेकीहरुलाई जुन सरकार बन्छ सहयोग गरेर काम गर्न आग्रह गर्छौँ । यहाँ जो सरकार बन्छ त्यो सरकारले हाम्रा छिमेकी हाम्रा सबै मित्रराष्ट्रहरूसँग सन्तुलित सुमधुर उचित सम्बन्ध राखेर पारस्परिक लाभ, पारस्परिक सम्बन्धका आधारमा सम्बन्ध राखेर अगाडि बढ्छ । यहाँ आत्तिनुपर्ने, इगोको विषय बनाउनुपर्ने कुरा केही पनि छैन । 

मैले राष्ट्रियताको सन्दर्भमा भन्न खोजेको कि हामी उत्ताउलिएका छैनौँ कसैमा भ्रम नरहोस् । हामीले पोलिटिकल स्टन्ट गरिरहेका छैनौँ चुनाव आउन लागिपरेको छैन । हामीले के मात्र भनिरहेका छौँ भने ‘वी लभ आवर सोभेरेन्टी, वी लभ आवर इन्डेपेन्डेन्, वी लभ आवर फ्रिडम, वी लभ आवर नेश्नल प्राइड’ यो हस्तक्षेप हामीलाई सह्य छैन रुचाउँदैनौँ । हाम्रो निवेदन यति मात्र हो कि हामी हस्तक्षेप रुचाउँदैनौँ ।’

पुस २६ अघि नै कांग्रेस यो सरकार ढाल्न लागिपर्‍यो

अध्यक्षओलीले वर्तमान सरकारलाई सफल र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनले यो सरकारलाई असफल पार्ने प्रयासमा कांग्रेस लागिरहेको भन्दै पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिए ।

‘पुस २६ गते सबै साथीहरु कुनै इफ बट हुँदैन । भनेको समयमा संसदमा एक मिनेट ढिला नगर्नुहोला’, ओलीको भनाइ छ ।  उनले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताए ।  ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरुले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहान्छौ हामी । यसले सहि नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहान्छौ । त्यसैले यसलाई बहुमत दिएर हामीले पुष्टि गर्नुपर्छ’, ओलीको भनाइ छ । उनले यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागि परेको पनि बताए । 

‘यो सरकार असफल पार्ने प्रयास बेस्सरी भएका छन् । कांग्रेस सभापति माननीय शेरबहादुर देउवाले वीइ वील कम ब्याक भनिरहरनुभएको छ’, ओलीले थप भने, ‘संकेत उहाँले २६ गते नै ढाल्छौ अनि आउँछौ भनेको हो ।’ ओलीले कांग्रेसले खुद्रा खेल खेलिरहेको भन्दै एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बाँड्ने काम गरिरहेको बताए । उनले कांग्रेसले यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा ७६ को ३ अनुसार ठुलो दलको नेताले प्रधानमन्त्री पाउने भएपनि उनीहरुको धन्दा यो सरकार ढाल्न नै केन्द्रीत हुने बताए । उनले यो सरकारले विश्वासको मत नपाए धारा ५ अनुसार सरकार बन्ने तर यो सरकार ढले ७६ को ३ अनुसार सरकार बन्ने बताए । एमाले त्यसतर्फ नलाग्ने भन्दै यहि सरकारलाई सफल र प्रभावकारी बनाउन लाग्ने ओलीको भनाइ छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us