अस्ट्रेलियामा १८ महिनापछि यात्रुलाई प्रवेशको अनुमति

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

GETTY IMAGES

अस्ट्रेलिया । अस्ट्रेलियाले यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने भएको छ । आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिदै आएको थियो । बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

यो नीतिले कोभिड-१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ । तर यसले विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको पनि छ। प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रा सम्बन्धी स्वतन्त्रता पाउने बताए।

होटेल क्वारन्टीन हटाइने
अस्ट्रेलियामा रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्थाले प्रत्येक यात्रुलाई अस्ट्रेलियाली डलर ३,००० अर्थात् दुई लाख ५६ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो। उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ। तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका छन्।

सिड्नी, मेलबर्न र क्यानबेरामा सङ्क्रमणका कारण लकडाउन लगाइएको छ। त्यसले हालैका महिनामा ती क्षेत्रमा खोप लगाउने गर्ने प्रवृत्ति बढेको छ। सिड्नी रहेको न्यू साउथ वेल्स ८० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने पहिलो राज्य बन्ने क्रममा छ। मेलबर्न राजधानी रहेको भिक्टोरिया पनि धेरै पछाडि छैन।

तर क्विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलिया जस्ता कतिपय राज्यहरूले खोप लगाउने दर उच्च नभएसम्म आफ्नो सीमा बन्द नै राख्ने बताइएको छ । सङ्क्रमण देखा परेका राज्यका मानिसलाई प्रवेश गर्न नदिएर यी राज्यहरू आफ्नो सङ्क्रमण दर शून्य वा लगभग शून्य कायम राख्न सफल भएका छन्।

यो निर्णय सँगै अस्ट्रेलिया खोप अभियानमा तोकिएको न्यूनतम दर लकडाउनबाट बाहिर निस्कने र ‘भाइरससँगै बाँच्ने’ वृहत् योजनामा प्रवेश गरेको छ । अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी १३ हप्ताको लकडाउनपछि अक्टोबर ११ मा खुल्दैछ। अहिले मानिसहरूले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न मात्रै अस्ट्रेलिया छाड्न पाउँछन्।

बीबीसीका अनुसार देशभित्र र बाहिर रहेका हजारौँ अस्ट्रेलियालीहरूले व्यग्रताका साथ यो घोषणा कुरिरहेका थिए। उनीहरु झन्डै दुई वर्षको एकान्तवासपछि बाहिर आउन लागेका छन ।

© 2022 All Right Reserved DiasporaNepal