देशभरका विमानस्थललाई स्तरोन्नतिका लागि बजेट

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० का लागि कुल चार अर्ब ८५ करोड रूपैयाँ बजेट ल्याएको छ। यसमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। जसअनुसार विभिन्न विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि मात्र प्राधिकरणले एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

त्यस्तै प्राधिकरणले धावनमार्ग विस्तार, ट्याक्सी-वे ओभर-ले र विमानस्थल सुदृढीकरण गर्न मुलुकभर सञ्चालनमा रहेका विभिन्न विमानस्थलका लागि बजेट छुट्याएको छ। जसअनुसार हुम्लाको सिमकोट विमानस्थलमा एप्रोन (पार्किङ) विस्तार गर्न प्राधिकरणले ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। आर्थिक वर्ष २०७४/०७५ मा कुल १९ करोड ८६ लाख रूपैयाँ लागतमा यो विमानस्थलमा एप्रोन विस्तारका लागि सम्झौता भएको थियो।

ताप्लेजुङको सुकेटार विमानस्थलमा धावनमार्ग विस्तारका लागि यस वर्ष ७० करोड बजेट छुट्याइएको छ। यो विमानस्थलको धावनमार्गको काम आर्थिक वर्ष २०७५/०७६ बाट निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।

दाङ विमानस्थल सुदृढीकरण तथा विस्तारका लागि एक करोड ९४ लाख रूपैयाँ, भक्तपुर, नलिञ्चोकमा हेलिप्याड बनाउन १५ करोड रूपैयाँ विनियोजन गरिएको छ। त्यस्तै चन्द्रगढी विमानस्थलको डिभिओआर/डिएमईसम्म (जहाजको स्थिति, ठाउँ र सञ्चार सुविधा) पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

कालिकोट विमानस्थलमा कालोपत्रे लगायत अन्य कामका लागि चार करोड २५ लाख रूपैयाँ, सिमरा विमानस्थलमा बाटो (पेरिफेरि र एक्सेस रोड), धावनमार्ग, ट्याक्सी-वे ओभर-लेका निर्माणका लागि आठ करोड रूपैयाँ छुट्याइएको छ। यो विमानस्थलमा आर्थिक वर्ष २०७७/०७८ देखि धावनमार्ग, ट्याक्सी-वे लगायत कामका लागि निरन्तर बजेट विनियोजन हुँदै आइरहेको छ। दस करोड १३ लाख ६४ हजार रूपैयाँमा सबै काम सम्पन्न गर्ने सम्झौता भएको छ।

जोमसोम विमानस्थलले नदी नियन्त्रण तथा विमानस्थल सुदृढीकरणका लागि चार करोड ४२ लाख रूपैयाँ पाएको छ। डोल्पा, जुफालको धावनमार्ग स्तरोन्नतिका लागि तीन करोड रूपैयाँ विनियोजन भएको छ।

कालिकोट विमानस्थलमा रिटेनिङ वाल तथा ड्रेन बनाउन ५० लाख रूपैयाँ छुट्याइएको छ। त्यस्तै मुगुको रारा विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्वपट्टी पहिरो नियन्त्रणका लागि नौ करोड ९६ लाख ४६ हजार रूपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

दार्चुला, गोकुलेश्वर विमानस्थललाई दुई करोड ६५ लाख रूपैयाँ, महेन्द्रनगर विमानस्थललाई २४ करोड ४२ लाख र कमलबजार विमानस्थललाई लागि एक करोड रूपैयाँ सुदृढीकरणका निम्ति छुट्याइएको छ।

बहुवर्षीय आयोजना अन्तर्गत भरतपुर विमानस्थलको धावनमार्ग विस्तारका लागि १२ करोड रूपैयाँ, अर्घाखाँची विमानस्थलको धावनमार्ग, ट्याक्सी-वे, एप्रोन, कालोपत्रे तथा फेन्सिङ ड्रेनेज बनाउन ६ करोड २२ लाख रूपैयाँ प्राधिकरणले छुट्याएको छ।

बाजुरा विमानस्थललाई स्लरी सिलका लागि दुई करोड रूपैयाँ र विराटनगर विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी-वे सुधारका लागि तीन करोड रूपैयाँ छुट्याइएको छ। बझाङ विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख रूपैयाँ, रारा विमानस्थलमा स्लरी सिल गर्न दुई करोड बजेट विनियोजन भएको छ।

प्राधिकरणले राजविराज विमानस्थलमा चेनलिंक फेन्स बनाउन एक करोड ५० लाख र ताप्लेजुङ विमानस्थललाई दुई करोड रूपैयाँ विनियोजन गरेको छ।

सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि ४ करोड ४२ लाख ४७ हजार रूपैयाँ बजेट परेको छ। त्यस्तै उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि चार करोड १५ लाख रूपैयाँ विनियोजन गरिएको छ। प्राधिकरणले संखुवासभाको तुम्लिङटार विमानस्थलको ल्यान्ड-स्केपिङका लागि ५० लाख रूपैयाँ यसपालि छुट्याएको छ।

© 2022 All Right Reserved DiasporaNepal