ट्राफिक नियम उलंघन गर्ने सवारी साधनबाट ३ करोड ३२ लाख बढी राजश्व संकलन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व संकलन गरिएको छ ।

गत आर्थिक बर्ष २०७८/७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व संकलन गरिएको हो । ट्राफिकको नियम उलंघन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरुबाट उक्त रकम संकलन गरिएको नेपाल राजमार्ग सुरक्षा तथा  ट्राफिक व्यवस्थापन कार्यालयका सुचना अधिकारी वीरेन्द्र विकले जानकारी दिए । उनका अनुसार ट्राफिक प्रहरीले दुई वटा चरणमा कारबाही र राजश्व संकलनको गतिविधि गर्ने गरेको छ । जस अन्तर्गत पहिलो चरण ०७८ साउनदेखि पौष महिनासम्म २० हजार ५०१ वटा सवारी साधनहरुले ट्राफिक नियम उलंघन गरेका छन् । ती सवारी साधनलाई कारबाही गरेर १ करोड ७१ लाख ८७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको उनले बताए ।  

दोस्रो चरणमा माघ महिनादेखि असार मसान्तसम्म १९ हजार ९५१ सवारी साधनहरु कारबाहीमा परेका छन् । ती सवारी साधनबाट १ करोड ६० लाख ७५ हजार ५ सय रकम राजश्व संकलन भएको छ । ‘विशेषगरी दशैं, तिहार जस्ता चाडपर्वहरूमा सवारी चालकहरूले ट्राफिक नियमको उलंघन गर्ने गरेको छन्,’विक भन्छन,‘अन्य जिल्लाभन्दा सुर्खेत, त्यसमा पछि वीरेन्द्रनगरमा यस्ता खालका घटनाहरु बढी हुने गरेका छन् । प्रदेश राजधानी भएसँगै सवारी साधनहरुको चाप बढेसँगै ट्राफिक नियमको उलंघनका घटनाहरु पनि बढिरहेका छन् ।’ 

यस्तै आव ०७६/०७७ मा १९ हजार ७६४ वटा सवारी साधनहरु कारबाहीमा परेका थिए । उक्त सवारी साधनहरुबाट १ करोड ७२ लाख ६४ हजार तीन सय राजश्व संकलन गरिएको थियो भने ०७७/७८ मा कारबाहीमा परेका २७ हजार ७०७ वटा सवारी साधनबाट २ करोड ४४ लाख ८९ हजार राजश्व संकलन भएको थियो । यद्यपी विगत दुई आर्थिक बर्षको तुलनामा गत आवको कारबाहीको संख्या र राजश्व निकै बढी हो । ट्राफिक प्रहरीले हरेक वर्षजस्तो सवारी चालकहरुलाई विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । त्यस मानेमा उलंघनका घटनामा कमी आउनुपर्ने हो । तथापि बर्षेनी ट्राफिक नियमको बे–वास्था गर्ने गरेर सवारी साधन सञ्चालन भइरहेका छन् । जसले गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । 

प्रहरीका अनुसार लामो रुट भएका राजमार्गहरुमा सवारी साधन चलाउने चालकहरूले मापसे सेवन गरेर सवारी चलाउने गरेका छन् । ट्राफिक प्रमुख भुवनेश्वर तिवारी गत आवमा सवारी चालक, सहचालक, पैदल यात्रीहरूलाई ट्राफिक ऐन नियम र उलंघन गर्न हुँदैन भनेर व्यापक सचेतनामूलक कार्यक्रमहरु गरिएको बताउँछन् । उनका अनुसार  ट्राफिक नियम उलंघनका  घटना बढ्दै गएपछि साउन महिनादेखि पौष मसान्तसम्म ८२६ पटक र माघ देखि असार मसान्त सम्म ९०३ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । जसबाट एक लाख ४१ हजार ४९० जना व्यक्तिहरु लाभान्वित भएको उनको भनाइ छ । 

© 2022 All Right Reserved DiasporaNepal