काठमाडौंबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौंको नयाँ बसपार्क, कलंकी, गौशाला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा  पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

लमजुङको बेँसीशहर नगरपालिका १ उदिपुर र  मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहिरो खसेको छ । जसका कारण लमजुङ हुँदै मनाङ जाने सवारी साधन रोकिएका छन् ।

पृथ्वी लोकमार्ग अन्तर्गगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङ खानीमा पनि आज बिहानै पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । धादिङकै धुनिवेशी नगरपालिका ९ स्थित निर्माणाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छाएकाे छ । पहिरो पन्छाएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पुर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal