एलन मस्कविरूद्धको कानुनी लडाइँमा ट्वीटरसँग खराब विकल्प मात्र

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

पहिले, एलन मस्कले ट्वीटर खरिद गर्ने इच्छा देखाए। मस्कले इच्छा प्रकट गर्दासम्म ट्वीटरले के गर्ला अन्यौलनै थियो। मस्क र ट्वीटरबीच ४४ विलियन डलरमा लेनदेनको सम्झौता भयो। अहिले, मस्क त्यसबाट उम्किन खोज्दैछन्। यता ट्वीटरले उनीविरूद्ध कानुनी उपचार खोजेको छ।

सिएनएनका अनुसार, सम्झौता भएको तीन महिनामै ट्वीटर र मस्कले अदालतको समाना गर्नुपरेको छ। दुई पक्षबीचको सम्झौताको भविष्य अन्यौलमै छ। यो सम्झौता अघि बढ्ला वा रद्द होला अब अदालतको फैसलाबाट निर्धारण हुनेछ। तर ट्वीटरका निम्ति अब एउटा कुरा निश्चित छ, मस्कको रवैयाबाट यो कम्पनी अनिश्चयको बाटोमा पुगेको छ।

ट्वीटरसँगको सम्झौता गत साता रद्द गर्ने निर्णयमा मस्क पुगेका हुन्। सम्झौता अनुसार आफूले माग गरे अनुसारको डाटा ट्वीटरले नदिएकाले लेनदेनको सम्झौता अघि बढाउन नसकिने मस्कको भनाई छ। 

ट्वीटरमा रहेका स्प्याम्प एकाउन्टका वास्तविक विवरण आफूले पाउनुपर्ने मस्कको अडान छ। मस्कले सम्झौता खारेजीको कुरा गरेपछि ट्वीटरले उनीविरूद्ध ६० पृष्ठ लामो अभियोजनपत्र दर्ता गराएको छ। ४४ विलियन डलरमा ट्वीटर खरिद गर्ने सम्झौता कार्यान्वयनको माग गर्दै ट्वीटरले मस्कविरूद्ध मुद्दा हालेको हो। मर्जर तथा अधिग्रहण विज्ञका अनुसार मस्कविरूद्धको ट्वीटरले पेश गरेका दलिल निकै बलिया छन्। 

ट्वीटरले दुई पक्षबीच भएका वित्तिय सम्झौतामा आफू अझै प्रतिवद्ध रहेको बताएको छ। दुई पक्षबीचको सबै सम्झौतामा आफू इमान्दार रहेको र त्यसलाई पालना गर्न कुनै समस्या नरहेको बताएको छ। मस्कलाई सम्झौता भंग गर्ने छुट नभएको ट्वीटरको दाबी छ। 

मस्कविरूद्ध ट्वीटरले बलियो दलिल पेश गरे पनि, मस्कको प्रवेशअघि  विज्ञापन बजार बलियो थिएन। बढ्दो महँगी र मुद्रास्फीतिलाई ख्‍याल गर्दै ट्वीटले र अन्य प्रविधि कम्पनीझैं खर्च कटौती गर्न खोजिरहेको थियो। त्यसैले ट्वीटरले, विश्वकै धनी व्यक्ति मस्कविरूद्ध ४४ विलियन डलरको सम्झौता कार्यान्वयन गराउन कानुनी लडाइँ रोजेको छ। यदि, ट्वीटरको पक्षमा फैसला आएको खण्डमा आफूलाई कानुनी कठघरामा उभ्याउने निर्णयको मजाक उडाउने, मस्क त्यस कम्पनीको मालिक बन्न बाध्य हुनेछन्।

ट्वीटरका निम्ति यो मुद्दा चुनौतीपूर्ण छ। मस्कले स्वामित्व लिने भनेसँगै कम्पनीको प्रतिकित्ता शेयरको मुल्य ३६ बाट बढेर ५४.२० डलर पुगेको थियो। तर ट्वीटरसँग सम्झौता भंग गर्ने भएसँगै सेयर मूल्य पुन ३६ डलरमै झरेको थियो। बढेको सेयर मूल्यलाई कायमै राख्नुपर्ने दबाब ट्वीटर बोर्डमाथि छ। 

यस्तै, एकतर्फीरूपमा सम्झौता भंग गरेका मस्कसँग बढीभन्दा बढी क्षतिपूर्ती लिनुपर्ने दबाबमा ट्वीटर छ। ट्वीटरलाई यी बाध्यता भए पनि मस्कसँगको सम्झौता कार्यान्वयनको मनसाय इमान्दार रहेको प्रमाणित गर्नुपर्ने चुनौती छ। 

यो बाहेक ट्वीटरसँग अर्को समेत विकल्प रहनेछ। ट्वीटरले, मस्कसँग कम मुल्य लिएर चित्त बुझाउनुपर्नेछ। तर यो विकल्पमा ट्वीटरका सेयरहोल्डर तयार हुनेबारे कुनै निश्चित छैन। ट्वीटरले मुद्दा जिते मस्क त्यसको सेयरहोल्डर बन्न बाध्य हुनेछन् र ट्वीटर अझै बलियो बन्नेछ। यदि, मस्कले मुद्दा जितेको अवस्थामा ट्वीटर धरासयीको बन्नसक्छ। 

यो मुद्दाकै कारण ट्वीटर संकटोन्मुख छ। मस्कको पछिल्लो निर्णयपछि कम्पनीको नेतृत्व विचलित देखिन्छ। कर्मचारी हतोत्साही छन्, प्रयोगकर्ता, सेयरहोल्डर र विज्ञापनदाता यसको भविष्यप्रति चिन्तित छन्। 

‘ट्वीटरको भविष्य के होला यो कम्पनी कसरी अघि बढ्ला र मुद्दाको समाधान कसरी होला भन्ने भन्दै मुस्किल छ,’ युनभर्सिटी अफ रिचमोन्ड स्कुल अफ ल का प्राध्यापक कार्ल तोबस भन्छन्, ‘यसको सु:खद समाधान हुन्छ भन्ने छैन।’ 

मुद्दाको विषयमा ट्वीटरका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन्। यस्तै आफूविरूद्ध कानुनी उपचार खोज्ने ट्वीटरको निर्णयविरूद्ध मस्कले पनि औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर उनले ट्वीट गरेका छन्, ‘ओ द आइरोनी लोल!’

ट्वीटरलाई सम्झौता भंग गर्ने पत्र लेख्दै मस्कले आफूलाई उपलब्ध गराउने भनिएको सूचना दिन ट्वीटर इमान्दार नदेखिएकाले सम्झौता रद्द गर्नुपरेको भनेका छन्। ट्वीटरका ५ प्रतिशतभन्दा बढी प्रयोगकर्ता झुटा रहेकाले त्यसको तथ्यसहितको सूचना आफूले पाउनुपर्ने मस्कको शर्त थियो।

‘ट्वीटरबाट निस्कन चाहेकैले उनले यस्तो भनेका हुनसक्छन्। मस्कले यो विषय अदालतमा प्रमाणित गर्नुपर्नेछ,’ कोलम्बिया ल स्कुलमा कर्पोरेट कानुनका प्रोफेसर इरिक टेलीले भने। स्प्याम युजरको समस्या समाधानका लागि ट्वीटर  खरिद गर्ने मस्कले बताएका थिए। अब यो कुरालाई मस्कले नजरअन्दाज गर्न सक्नेछैनन्। अप्रिल ९ मा मस्कले ट्वीटरका बोर्ड अध्यक्ष ब्रेट टेलरलाई सन्देश पठाएका थिए। ‘नक्कली प्रयोगकर्ताको संख्या भयानक छ। यसको समाधान हुनैपर्छ,’ आफूले पाएको सन्देशबारे ब्रेटले भनेका छन्। 

मस्कको यो सन्देश अनुसार ट्वीटरका प्राविधिक टोलीले उनको प्रतिनिधिसँग धेरैपटक छलफल गरेको ट्वीटरको दाबी छ। मस्कको आशंका निवारणका सन्दर्भमा र उनले माग गरे अनुसारका काम गर्दा पनि उनले बहानाबाजी मात्रै गरेको ट्वीटरको आरोप छ। 

मस्कले ट्वीटरले मानव संशाधनमा हेरफेर गरेर सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन्। यता, ट्वीटरले भने मस्कसँग सहमति लिएरै निर्णय गरेको दाबी गरेको छ। आफ्ना दाबी सम्झौताबाट उम्कन प्रेरित नरहेको देखाउन मस्कले  हरसम्भव प्रयास गर्नेछन्। 

अधिवक्ता केन्थ हेन्डरसन भन्छन्, ‘यो मुद्दाको बहस निकै पट्टयारलाग्दो हुनेछ।’

ज-जसले जे दाबी पेश गरे पनि अदालतले कसले सम्झौता उल्लंघन गर्‍यो भन्ने जाँच गर्नेछ। दुई मध्ये कोही एकले उल्लंघन गरेको पाइएमा उल्लंघन गर्नेले अर्को पक्षलाई क्षतीपूर्ती पनि तिर्नुपर्ने हुन्छ। मस्कको पक्षमा फैसला भए उनी क्षतिपूर्ती लिएर उम्कन पाउनेछन्। अदालतले ट्वीटरको पक्षमा फैसला गरेको अवस्थामा मस्कसँग क्षतिपूर्ती लिएर आपसी सम्झौता रद्द हुने आदेश पनि आउन सक्छ। 

अधिवक्ता हेन्डरसनका अनुसार, ठूला-ठूला अधिग्रहणहरूमा विशेष अवस्था बारेका प्रबन्धले सम्झौता कार्यान्वयन बाध्यकारी नहुने स्थिति हुनसक्ने भएकाले यो मुद्दामा फैसला कस्तो होला अनुमान कठिन छ। 

मस्कलाई सम्झौता कार्यान्वयनका निम्ति अदालतले बाध्य बनाएको अवस्थामा बाँकी सेयरहोल्डरले गतिलै पैसा हात पार्नेछन्। तर यसले कम्पनीका कर्मचारीमा सकारात्मक प्रभाव पार्नेछैन। मस्क अदालतको आदेश मान्नेमा द्विविधा भइरहेका छन्। तर फैसला, कार्यान्वयन नगरेमा अदालतले उनको सम्पत्ति जफत गर्ने फैसला गरेर बाध्यकारी बनाउन सक्नेछ। 

ट्वीटरका निम्ति मस्कलाई ४४ अर्ब डलरको सम्झौता कार्यान्वयनमा अदालतले बाध्यकारी बनाउनुनै फाइदाजनक हुनेछ। प्रोफसर तोबर भन्छन्, ‘अदालतले सम्झौता कार्यान्वयनका निम्ति मस्कलाई बाध्यकारीनै बनाउला भन्न स्थिति छैन। अदालतले चहाँदैमा मात्रै यो फैसला होला भन्ने लाग्दैन।’ 

सम्झौता भंग हुने स्थिति आएमा भंग गर्ने पक्षले १ अर्ब डलर तिर्नुपर्ने उल्लेख छ। परिस्थितिलाई मध्यजनर गर्दै भंग गर्ने पक्षले यो भन्दा बढी तिर्नुपर्ने स्थिति पनि आउनसक्छ। अधिवक्ता हेन्डरसन भन्छन्,‘ट्वीटरले मस्कसँग बढी पैसा असुल्ने नियतले मुद्दा दर्ता गराएको स्थिति छ। मस्कबाट बढी भन्दा बढी क्षतिपूर्ती लिने पक्षमा ट्वीटर छ।’

अभियोजन हेर्दा र कानुनी अवस्था हेर्दा ट्वीटरनै बलियो रहेको हेन्डरसनको भनाई छ। तर व्यवहारिक रूपमा हेर्दा ट्वीटरले यो मुद्दा जित्ला भनेर दाबी गर्न कठिन रहेको उनको तर्क छ। ‘कानुनी रूपमा बलियो स्थितिमा रहँदा रहँदै पनि विभिन्न चलखेलका कारण ट्वीटरले यो मुद्दा जित्ला भन्नेमा निर्धक्क भन्न सकिँदैन’, हेन्डसनले भने, ‘यो लफडाका कारण ट्वीटर अहिलेनै अनिश्यचको स्थितिमा छ। कमजोर अवस्थामा पुगिसकेको छ। अब प्रश्न के हो भने, कमजोर मनोबल र मनस्थितिले बलियो पक्षसँग कहिलेसम्म पौँठेजोरी खेल्न सक्छ?’

© 2022 All Right Reserved DiasporaNepal