जानकी मन्दिरबाट हरायो  गरगहना

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए ।

जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडाैं लगिएको थियो । तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरधामवासीलाई दर्शन गराउन भन्दै माग गरेपछि गुठी संस्थानले जानकी मन्दिरका गरगहनाको अत्तोपत्तो नरहेको जवाफ दिएको बताइन्छ ।

महन्त रामतपेश्वरले अर्बौं मूल्य बराबरको जानकी महारानीको गरगहनाको खोजबिन गर्दा गुठी संस्थानले अरू मन्दिरको गरगहना सुरक्षित रहे पनि जानकी मन्दिरको गरगहना नभेटिएको जवाफ दिएको बताए ।


२०२० साउन १२ मा मन्दिरलाई कागज नै बनाएर तत्कालीन महन्त रामशरण दासबाट लगिएको गरगहनामा सुनका ५६ किसिमका २ किलो २४० ग्राम गरगहना छन् । ती गहनाहरूमा हिरा, मोती र बहुमूल्य पत्थर जडिएको उनको भनाइ छ ।

त्यस्तै २ किलो ८५० ग्राम चाँदीका ७७ किसिमका गरगहना थियो । चाँदीका गरगहनामा पनि हिरा, मोती र बहुमूल्य पत्थर जडिएको बताइन्छ । महन्त रामतपेश्वरका अनुसार गरगहनाहरूको जानकारी दिन पटकपटक ताकेता गर्दा र विभिन्न निकायमा धाउँदा समेत ठोस जानकारी दिइएको छैन ।

© 2022 All Right Reserved DiasporaNepal