बेलायतमा एनआरएनए तेस्रो स्वास्थ्य सम्मेलन सुरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)को स्वास्थ्य समितिले बेलायतमा शुक्रबारदेखि गर्न लागेको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको एनआरएनए युकेले जनाएको छ । गैर आवासीय नेपाली संघ बेलायत (युके)को संयोजनमा बिहीबार सांझ भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले तीन दिने विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पुरा भएको जानकारी गराएका हुन् ।

तेस्रो सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुने र विश्वभरबाट सम्मेलनमा सहभागी जनाउने जानकारी उनले दिए । पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक एवं सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव सापकोटाले सम्मेलनमा स्वास्थ्य सम्बन्धी कार्यपत्रहरु प्रस्तुत हुने बताए । सेप्टेम्बर १७ शुक्रबारदेखि १९ सम्म हुने सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहितका देशका करीव ५ सय स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी हुने अपेक्षा गरिएको डा. सापकोटाले बताए ।

नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल काउन्सिल अष्ट्रेलिया, नेप्लिज डक्टर्स एसोसिएसन यूके, नेप्लिज नर्सिङ एसोसिएसन यूके, रोयल कलेज अफ एडिनबरा, यूके नर्सिङ सोसाइटी जस्ता स्वास्थ्य संस्थाहरुको पनि सहभागिता रहने बताइन्छ ।

तीन दिने सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आआफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने, दोस्रो दिन शनिवार लण्डनस्थित नेपाली दूतावास भवनबाट सम्मेलन उद्घाटन र तेस्रो दिन च्यारिटि डिनरसहित आइतबार सम्मेलन समापन अल्डरसटबाट हुनेछ । सम्मेलनपछि सेप्टेम्बर १९ मा लन्डन घोषणापत्र जारी गरिने डा. सापकोटाले जनाए । उक्त सम्मेलनका लागि एनआरएनए युकेले सम्पुर्ण सहयोग गर्नेछ ।
डा. सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन् ।

कोभिड- १९ महामारीको प्रभाव र चुनौती, विदेशमा नेपालीको स्वास्थ्य अवस्था, नेपालमा कोभिड खोप, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गरि जनचेतना जगाउने संयोजक डा.सापकोटाले जानकारी दिए । सापकोटाले वाक एण्ड भर्चुअल रन कार्यक्रम, अल्डरसटमा हेल्थ स्क्रिनिङ कार्यक्रम राखिएको पनि बताए । अध्यक्ष प्रेम गाहा मगरले ‘स्वास्थ्य नै धन’ रहेको बताउदै विश्व नेपाली स्वास्थ्य सम्मेलन एउटा राम्रो अवसर रहेको बताए ।

सम्मेलनको यूके आयोजक कमिटीका संयोजक डा. सुनिल शाहले बेलायतको रेड लिष्टका कारण नेपालबाट भने स्वास्थ्यविज्ञहरु प्रत्यक्ष सहभागी हुन सक्ने अवस्था नरहेको शाहले जनाए ।

सम्मेलनपछि आफूहरुले सुझाव सल्लाह दिने तर कार्यान्वयन भने नेपाल सरकारमा निर्भर रहने डा सापकोटाले बताए । उनले भर्चुअल रुपमा सम्मेलनमा जोडिन विश्वभरका नेपालीलाई अपिल पनि गरेका छन । सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनका विषयमा केन्द्रित रहनेछ। पत्रकार सम्मेलनमा बोल्दै विश्व नेपाली स्वास्थ्य सम्मेलनका प्रतिनिधि प्रसुना कँडेलले आफूले नर्सिङ विभाग हेर्ने र सबै नर्सहरुलाई विश्वव्यापी रुपमा सहकार्य गरेर लैजाने बताइन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा कार्यक्रम तय भएपनि उनको स्वास्थ्यमा समस्या आएकाले सम्मेलनको उद्घाटन संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले गर्नेछन । सम्मेलनलाई एनआरएनए अध्यक्ष कुमार पन्त, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यारोनेस क्यानेडी, यूके नर्सिङ सोसाइटीकी ट्रेसी बडिङ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. सुनिल शाह, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भएको थियो ।
एनआरएनए युके अध्यक्ष गाहामगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन उपाध्यक्ष गोविन्द खरेलले गरेका थिए । पत्रकारले राखेका जिज्ञासाहरुको अध्यक्ष गाहामगर, डा. सापकोटाले जवाफ दिएका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष गाहामगर, डा. सापकोटा, डा. शाह, नर्स प्रसुना कँडेल, वरिष्ठ पत्रकार भगिरथ योगी, नेपाल पत्रकार महासंघ युकेका विपिन निरौला, पत्रकार श्याम लुईटेल, पत्रकार मन्दिप केसी, पत्रकार डा. जगन कार्की, एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेल, सचिव ज्ञानेन्द्र आले र प्रवक्ता भरत लिम्बुलगायतको उपस्थित थिए ।

सम्मेलन शुक्रबार बेलायत समयअनुसार विहान ८ः१५ र नेपालको समयअनुसार १ बजेबाट सुुरु हुनेछ । त्यसैगरी शनिबार नेपाली दुतावास लन्डनमा २ घण्टाको कार्यक्रम हुनेछ । आइबार बेलायतको समयअनुसार विहान ११ बजेदेखि ५ बजेसम्म अल्डर्शटको प्यालेस हलमा हुनेछ ।

© 2022 All Right Reserved DiasporaNepal