करिब ९५ अंकले बढ्यो नेप्से

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

साताको पहिलो दिन आज सेयर बजार ५.१० प्रतिशतले बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंकले बढेर १,९५६.९८ बिन्दुमा पुगेको हो।

लगानीकर्ताहरूले सेयर बजार सुधारको माग राख्दै बसेको आन्दोलन गत शुक्रबार तोडिएसँगै सेयर बजारमा सुधार देखिन थालेको हो। शुक्रबार नै नेप्से परिसूचक १३.७८ अंकले बढेको थियो। यो वृद्धिले आज पनि निरन्तरता पाएको हो। 

नेप्से बढेसँगै कारोबार रकम पनि दुई अर्ब नाघेको छ। आज २३० किसिमका धितोपत्र तथा ऋणपत्रको ६३ लाख ६३ हजार ५९० सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो। 

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये २२२ वटाको मूल्य बढेको छ भने जम्मा ५ वटाको मूल्य घटेको छ। आज कुल २१ कम्पनीको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यीमध्ये नेशनल हाइड्रोपावर कम्पनी, सिटिजन इनभेस्टमन्ट ट्रस्ट, हिमालयन डिस्टिलरी, प्रोग्रेसिभ फाइनान्स लिमिमटेड, सानिमा लाइफ इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनी लगायत हुन्। 

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै इनभेस्टमेन्टको ८.८७ प्रतिशत, विकास बैंकको ८.३ प्रतिशत र अन्यको ७.०७ प्रतिशतले बढेको हो। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख ९२ हजार रुपैयाँ, न्यादी ग्रुपको ८ करोड ३३ लाख ५३ हजार रुपैयाँ, नबिल बैंकको ६ करोड ७६ लाख २७ हजार रुपैयाँ र शिवम् सिमेन्टको ५ करोड ४१ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ। 

© 2022 All Right Reserved DiasporaNepal