एनआरएनए यूके निर्वाचन पर्यवेक्षकले बुझाए ५ सुझावसहितको प्रतिवेदन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन । एनआरएनए यूकेको गत साता सम्पन्न निर्वाचनका लागि खटाइएका पर्यवेक्षकहरुले आफ्नो प्रतिवेदन बुझाएका छन् ।  

निर्वाचन पर्यवेक्षणको जिम्मा पाएका नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार भगिरथ योगी, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर र अध्यक्ष ध्रुवराज अर्यालले संयुक्त प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कंडेललाई मंगलबार पठाएका हुन् ।  

मतदानदेखि नतिजा घोषणासम्मको समग्र निर्वाचन प्रक्रियाको अवलोकन र पर्यवेक्षणपछि विभिन्न ५ सुझावसहितको प्रतिवेदन बुझाइएको हो । अन्तिम प्रतिवेदन बुझाउनुअघि पर्यवेक्षकहरुले निर्वाचन समितिलाई अन्य २ प्रारम्भिक प्रतिवेदन बुझाइसकेका थिए ।  

एनआरएनए यूकेमा पहिलो पटक अभ्यास गरिएको अनलाइन मतदान समग्रमा सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष प्रतिवेदनको छ । तर मतदाता प्रमाणीकरण, मतदाता शिक्षा, निर्वाचन तालिकाको कार्यान्वयन, आचारसंहिता पालना, नतिजा प्रकाशन लगायतका कार्यमा सुधारको खांचो औंल्याइएको छ ।  

पर्यवेक्षकहरुको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त कंडेलका साथै सबै निर्वाचन आयुक्तहरु, केन्द्रीय निर्वाचन पर्यवेक्षक, निवर्तमान अध्यक्ष र नवनिर्वाचित अध्यक्ष समेतलाई पठाइएको छ ।   

प्रतिवेदनको पूर्ण पाठ: 

श्री महेन्द्रराज कँडेलज्यू,

प्रमुख निर्वाचन आयुक्त, 

एनआरएनए यूके निर्वाचन समिति २०२१  

विषय- पर्यवेक्षकको रिपोर्ट । 

महोदय, सर्वप्रथमतः एनआरएनए यूकेको कार्यसमिति निर्वाचन २०२१ को स्वतन्त्र पर्यवेक्षणका लागि हामीहरुलाई जिम्मेवारी दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । अनलाइन मतदानदेखि मतपरिणाम घोषणासम्मको समग्र निर्वाचन प्रक्रियाको अवलोकन र पर्यवेक्षणपछि निम्नानुसारका सुझावहरु पेश गर्दछौं ।  

१. गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय समिति तथा राज्यसमितिहरुको चुनाव अनलाइनबाट सोमबार तदनुसार २ अगष्ट २०२१ मध्यान्ह १२ बजे शुरु भई ३ अगष्ट २०२१ मध्यान्ह १२ बजे शान्तिपूर्वक, विना अवरोध सम्पन्न भएको पाइयो ।

अनलाइन मतदानका लागि केही मतदाताहरुले इमेल प्राप्त नगरेको गुनासो सोमबार र मंगलबारसम्म पनि प्राप्त भयो । तथापि समग्रमा मतदानमा ठूलो संख्यामा मतदाताले मताधिकार प्रयोग गरेको पाइयो । धेरैले अनलाइन मतदान राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

निर्वाचनको आधारका रुपमा रहेका मतदाता (संस्थाका सदस्य) हरुको व्यवस्थापन महत्वपूर्ण देखियो । सदस्यता प्रमाणीकरणदेखि मतदाता सूची प्रकाशनसम्मका कार्य अझै बढी व्यवस्थित, निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक मान्यताअनुरुप गराउन सल्लाह दिन्छौ । अनलाइन मतदान धेरै हिसाबले उपयुक्त र व्यवहारिक पाइयो । तर हरेक मतदाताले स्वतन्त्रतापूर्वक आफ्नो मत आफै हाल्न सक्ने वातावरण निर्माण गर्न थप सचेतना, सतर्कता र विद्युतीय सुरक्षाका प्रावधानहरु आवश्यक देखियो ।

२. मतदानपश्चात मतगणना र परिणामका बारेमा धेरैको चासो र चिन्ता रहेको पाइयो । मंगलबार सकिएको मतदानको परिणाम दुईदिन पछि विहीबार मात्र सार्वजनिक हुने कुरालाई कतिपयले आशंकाको रुपमा पनि लिएको पाइयो । पूर्व निर्धारित निर्वाचन तालिकाअनुसार विहीबार समेत मतपरिणाम घोषणा नहुनुले निर्वाचन समितिमाथि उम्मेद्वार र उनका समर्थकमा मात्र नभइ आम मतदाता र समुदायमा समेत थप आशंका र अन्योल उब्जिएको पाइयो ।

मतदान सकिनासाथ कति मत खस्यो भनेर जानकारी गराउन र सक्दो चांडो मतपरिणाम घोषणा गर्न सके अनावश्यक अविश्वास र आशंका उब्जन नपाउने देखियो । पूर्व प्रकाशित निर्वाचन तालिकाअनुसार पटकपटक कार्यसम्पादन नहुँदा जनमानसमा वितृष्णा जगाएको पाइयो । आगामी दिनमा पूर्वप्रकाशित तालिकामा कडाइका साथ अडिग रहन तथा कथंकदाचित संशोधन गर्न परेमा प्रष्ट कारण जनमानसमा राख्न आवश्यक देखिन्छ । 

तर, ढिलो गरी प्रकाशित भएपनि मतपरिणाम र समग्र चुनावी प्रक्रियालाई सबै पक्षले सहर्ष स्वीकार्नुले निर्वाचनको समापन निर्विवाद र सर्वस्वीकार्य भएको पाइयो ।  

३. पहिलोपटक अनलाइन माध्यमबाट हुँदै गरेको निर्वाचन प्रक्रिया र मतदानका बारेमा मतदातालाई सचेत पार्न निर्वाचन समितिले प्रकाशन गरेको ‘डेमो निर्देशिका’ प्रभावकारी देखियो तर पर्याप्त थिएन । एउटा उम्मेदवारलाई छनौट गरी सेभ गर्दा फेरि पहिलेको पेजमा फर्कन नै नपाइने प्रावधानका बारेमा जानकारी नहुँदा कतिपय उम्मेदवार स्वयंले आफैलाई मतदान गर्नबाट वन्चित हुनुपरेको पाइयो । त्यसैले आगामी दिनमा निर्वाचनका बारेमा सरल भाषामा अंग्रेजी र नेपाली दुवै भाषामा समयमै जानकारीहरु प्रवाह गर्न आवश्यक देखिन्छ । खासगरी बेलायतमा अंग्रेजी भाषा र प्रविधिको ज्ञान नभएका वयोवृद्धहरुलाई लक्षित गरेर मतदाता शिक्षा चलाउन सुझाव छ ।  

निर्वाचन समिति र उम्मेदवार तथा आम मतदाताहरुबीचको सम्पर्क र सञ्चारका लागि निर्वाचन नजिकिँदै गर्दा निर्वाचन समितिले जुम बैठक, सामाजिक सञ्जाल, फेसबुक लाइभदेखि विभिन्न मिडिया र आफ्नै वेबसाइट समेतलाई सदुपयोग गरेको पाइयो । यस्ता अभ्यासहरु सुरुवाती चरणबाटै सञ्चालन गर्न सकेमा अनावश्यक आशंका, प्रश्न र विवादले ठाउँ नपाउने देखिन्छ ।  

४.  समग्रमा निर्वाचनमा सहभागी उम्मेद्वारहरुको चुनावी अभियानहरु सभ्य र सौहार्दपूर्ण पाइयो । तर प्रचार प्रसारको क्रममा निर्वाचनको आचारसंहिता पालना गर्न, आफ्ना अभिव्यक्ति र क्रियाकलापहरुले निम्त्याउन सक्ने विवादतर्फ सजग रहन र चुनावी माहोलकै लागि अतिरञ्जनापूर्ण ढंगले सामाजिक सञ्जाल र मिडियाको दुरुपयोग नगर्नका लागि उम्मेद्वारहरु थप सतर्क बन्नुपर्ने देखियो ।

त्यस्तै, निर्वाचन र मतपरिणामको बारेमा उम्मेदवारका रुपमा चासो, चिन्ता राख्नु स्वभाविक रहेपनि निर्वाचन समितिमाथि अनवश्यक दबाब थोपर्ने, मिडिया र सामाजिक सञ्जालमा आरोप लगाउने र निर्वाचन समितिका अधिकारीहरुलाई नै असहज हुने गरी दबाब दिन प्रयास गर्ने जस्ता अशोभनीय कार्यहरु हुन नदिन उम्मेदवारहरु थप जिम्मेवार बन्नुपर्ने देखियो ।  

५. एनआरएनए यूकेमा यसै निर्वाचनदेखि शुरू भएको अनलाइन मतदानको व्यवस्थाले मतदाता, उम्मेदवार र आम समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । पहिलोपटक गरिएको अभ्यास पनि प्रभावकारी र सफल देखिएको छ । अनलाइन मतदानको विश्वसनियता र पारदर्शिताका बारेमा उब्जिएका केही प्रश्न र अभ्यासका क्रममा देखिएका त्रुटी–कमजोरीहरु हटाउंदै आवश्यक सुधार र परिमार्जन गर्न सके यसले संस्था र निर्वाचनप्रतिको आम सदस्यहरुको विश्वास र भरोसालाई प्रवर्द्धन गर्ने निश्चित छ ।  

धन्यवाद ।  

भगिरथ योगी– सल्लाहकार, नेपाल पत्रकार महासंघ यूके

नरेश खपाङ्गीमगर– निवर्तमान अध्यक्ष, नेपाल पत्रकार महासंघ यूके  

ध्रुवराज अर्याल– अध्यक्ष, नेपाल पत्रकार महासंघ यूके  

१० अगष्ट २०२१, लन्डन ।  

बोधार्थ :

१ निर्वाचन समितिका आयुक्तहरु 

२ केन्द्रीय निर्वाचन पर्यवेक्षक 

३ निवर्तमान अध्यक्ष, एनआरएनए यूके 

४ अध्यक्ष, एनआरएनए यूके

© 2022 All Right Reserved DiasporaNepal