पुरानो विमान नभित्र्याउने पर्यटनमन्त्री आलेको भनाइ

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पुराना जहाज भित्र्याउन कडाइ गर्ने बताएपछि वायु सेवा कम्पनीहरूले त्यसमा आपत्ति जनाएका छन्। 

मन्त्री आलेले बिहीबार संसद बैठकमा पुराना जहाज भित्र्याउन कडाइ गरिने बताएका थिए। पर्यटनमन्त्रीले संसदमा दिएको अभिव्यक्ति स्वेच्छाकारी, अव्यवहारिक तथा तर्कहीन भएको र यसलाई कार्यान्वयन नगर्न/नगराउन कम्पनीहरूले प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन्। 

मन्त्री आलेले १० वर्षभन्दा पुरानो प्रेसराइज्ड विमान र १५ वर्षभन्दा पुरानो नन प्रेसराइज्ड विमान भित्र्याउन रोक लगाउने बताएका थिए।

हालको प्रावधानअनुसार १५ वर्षसम्मको प्रेसराइज्ड र २० वर्षसम्मको नन प्रेसराइज्ड विमान भित्र्याउन सकिने व्यवस्था छ। प्रेसराइज्ड विमानमा क्याबिनको प्रेसर नियन्त्रण गर्ने प्रणाली हुन्छ जसले विमानका चालक दर र ग्राहकलाई सहज बनाइन्छ।

यस्ता उच्च प्राविधिक तथा संवेदनशील विषयमा व्यवसायी, हवाई विज्ञ तथा अन्य हवाइ सेवासम्बन्धी सम्बन्धित निकायसँग सल्लाह नै नगरी पर्यटन मन्त्रीले यस्तो निर्णय लिएको भन्दै वायु सेवा संचालक संघले आपत्ति जनाएको हो। 

नेपालका सबै वायु सेवा कम्पनीहरूले जहाज मर्मतसम्भारमा अन्तर्राष्ट्रिय प्रावधान, विमान निर्माता कम्पनीको सर्शत नियमन र नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डभित्रै रहने गरेको संघको भनाइ छ।

संघका अध्यक्ष क्यापटेन रामेश्वर थापा भन्छन्,‘विमानको उमेरसँग जहाज दुर्घटनाको घटनालाई दाज्न मिल्दैन, हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्ने हो भने पनि यो कुरा छर्लंग हुन्छ।’ 

उनले सबै वायुसेवा कम्पनीहरुले प्राधिकरण, हवाई व्यवस्थापन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) लगायत अन्य हवाई सुरक्षा र व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै आइरहेको बताए । 

© 2022 All Right Reserved DiasporaNepal