एनआरएनए सदस्य संख्या ५ लाख पुराउने कुल आचार्यको लक्ष्य

५ वर्षs अगाडि

जीएनएन 

काठमाडौँ  (जीएनएन ) —  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफु निर्वाचित भएमा संघको सदस्य संख्या पांच लाख पुराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

अहिले संघको सदस्य संख्या १ लाख बढी छ। 

जीएनएनसंग कुरा गर्दै आचार्यले  थप मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशील गराएर सदस्य संख्या पांच गुना बढाउने आफुले योजना ल्याएको खुलासा गरे।  

उनले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने पनि बताए । हालसम्म ८४ देशमा एनआरएनए पुगेता पनि बीस भन्दा बढी एनसीसी निष्कृय रहेका छन् ।

आचार्यले तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै  राहदानी सहित नागरिकताको अधिकार स्थापित गर्ने आफ्नो योजना रहेको बताए।  “मैले प्रधानमंत्री शेर बहादुर देउवा लगायत प्रमुख दलका नेताहरूसंग भेटवार्ता गरेको छु र उहाँहरु सबैजना सकारात्मक हुनुहुन्छ, ” आचार्यले भने। ‘म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु,’ उनले भने ।

उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताए ।

एक एनआरएन एक रोजगार अभियान

संघका सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष रही सकेका आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने  घोषणा पनि गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरुको विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए।  

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई  सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्कीरहेका बालबालिकाहरुलाई  नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु  संचालन गरिने पनि बताए   ।

गैरआवासीय नेपाली खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने पनि उनको योजना छ ।

आचार्यले हालसम्मको आफ्नो अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए । उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रम मार्फत औपचारिक घोषणा गर्ने पनि जनाए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us