एनआरएनए प्रतिनिधिहरुको नामावलीमा असन्तुष्टी हुदै परराष्ट्र मन्त्रालयमा उजुरी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैर आवासीय नेपाली संघको केन्द्रीय सचिवालयले आसन्न दशौं महाधिवेशनका लागि विधान विपरीत महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) हरुको नामावली सार्वजनिक गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । एनआरएनएका विभिन्न २५ देशका अध्यक्ष तथा प्रतिनिधिहरुका तर्फबाट तीनजनाले बिहीबार मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् । एनआरएन अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, आइसीसी सदस्य नवराज ओली (शनि ओली-कतार) र आइसीसी पूर्व सचिव जानकी गुरुङले मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराएका छन् ।

एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै दर्ता  गरिएको उजुरीमा आइसीसीले गरेका विभिन्न १९ वटा कमजोरी तत्काल सुधार गर्नका लागि निर्देशन दिन माग गरिएको छ ।

आइसीसीको बैठक नै नबसी प्रतिनिधिहरुको नामावली प्रकाशन गरिएको, अष्ट्रियाको वर्तमान कार्यसमितिका अध्यक्ष तथा  निवर्तमान कार्यसमितिका महासचिवलाई समेत प्रतिनिधि बन्नबाट बन्चित गरिएको, चेक रिपब्लिकका संस्थापक अध्यक्ष जितेन्द्र रायमाझीलाई महाधिवेशन प्रतिनिधि चयन प्रकृयामा सहभागी नै नगराई एकतर्फी तवरबाट महाधिवेशन प्रतिनिधिको सिफारिस गरिएको,  २५५ महाधिवेशन प्रतिनिधि चयनको व्यवस्थालाई अपब्याख्या गर्दै फरक फरक देशमा फरक प्रावधान राखिएको र अमेरिका, बेलायत, अस्ट्रेलियाका  निर्वाचित कार्य समितिले पठाएको ६५५ र २५५ महाधिवेशन प्रतिनिधिलाई विनाकारण मान्यता नदिइएको निवेदनमा उल्लेख छ ।

त्यस्तै रुसमा सदस्यताका लागि तोकिएको म्यादभन्दा पछि पनि सदस्य संख्या थपी थप प्रतिनिधिको नाम समावेश गरिएको, लक्जेम्बर्गमा जम्मा ६० सदस्य रहेकोमा २६५ बनाएर थप डेलिगेट बनाइएको, न्यूजील्याण्डमा पनि एमआइएस प्रणाली दुरुपयोग गरी सदस्य संख्या थपेर बढी प्रतिनिधि चयन गरेको, यसैवर्ष स्थापना भएका एनसीसीहरुबाट पनि विधानविपरीत प्रतिनिधिहरु समावेश गराएको, क्षेत्रीय संयोजकहरुलाई बाइपास गर्दै आइसीसीका केही पदाधिकारीले हस्तक्षेप गरेर प्रतिनिधि छानेको, आयरल्याण्डमा २५ प्रतिशत नामावली नै समावेश नगरेको, जापानको निर्वाचनमा नै धाँधली भएको र धाँधली गरेरै प्रतिनिधि छानेको दाबी पनि निवेदनमा गरिएको छ ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा महासचिव हेमराज शर्मा, सचिव गौरी राज जोशीको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई जानी जानी दुख दिने काम गरिरहेको पनि निवेदनमा  उल्लेख छ।

निवेदनमा २०७८ भदौ २१ गते आइसीसी सचिवालयले प्रकाशित गरेको महाधिवेशन प्रतिनिधिहरुको नामावली अवैधानिक रहेकोले तत्काल सच्याउन आइसीसीलाई निर्देशन दिन पनि माग गरिएको छ ।

निवेदनमा विधान विपरित सार्वजनिक गरिएको नामावली नसच्चिएसम्म आगामी अक्टोबर २३–२५ का लागि तोकिएको संघको महाधिवेशन सम्बन्धि कुनै काम कारबाही तत्काल अगाडि नबढाउन गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र सचिवालयको नाममा निर्देशन जारी गर्न पनि माग गरिएको छ ।

विभिन्न एनसीसीहरुले यस्तै उजुरी अध्यक्ष कुमार पन्त तथा केन्द्रीय सचिवालयमा पनि गरेका छन्, तर संघले अहिले सम्म ती उजुरीहरुबारे सार्वजनिक रुपमा केहि बोलेको छैन।  

परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको निवेदन जस्ताको तस्तैः

© 2022 All Right Reserved DiasporaNepal