भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगे

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्वीर:नेपाल लाइभ

२५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।

जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ।

भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेका छन्।

भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अति विशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरूको टोली लुम्बिनी आइपुगेको जानकारी दिए।

उक्त टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। गत वैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमान समेत यही भएको छ।

बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरूलाई विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us