स्वीडेनका हसलमार्कले जिते पोखरामा भएको शाहसीक हिमालयन एक्सट्राई ट्रायथलन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलनको उपाधि जितेका छन्।

३.८ किमी पौडी, १८० किमी साइक्लिङ र ४० किमी दौड पूरा गर्नुपर्ने कठिन मानिने शाहसीक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन्।

उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए।

लुम्रेबाट ४० किमी उकाली ओरोली दौड शुरु भएको थियो। दौड पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए।

यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन्। रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन्।

‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ को साहसिक ट्रायथलोन अन्तर्गतको यो ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलो पटक सुरु गरिएको हो।

अन्त्यन्त शाहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसँग सहयोगी समेत हुने गर्दछ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरुले भाग लिएका थिए। उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए। उनीहरू प्रतियोगिताका लागि करिव एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए।

विजेता र सहभागि खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरे।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए।

दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोविद भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो।

सन् २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ।

© 2022 All Right Reserved DiasporaNepal