ओलीलाई भोट माग्ने नैतिक आधार छैन

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए । 

उनले भने, ‘एमालेका अध्यक्ष केपी ओलीले एकपटक जनताको बीचमा उभिएर मैले ५ वर्षको लागि म्यान्डेट पाएको थिएँ, मैले चलाउन सकिन, यसका लागि मलाई क्षमा देउ, मैले ५ वर्ष संसद चलाउन सकिन, मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा नमागीकन, माफीको याचना नगरीकन जनताको बीचमा मत माग्ने नैतिक आधार पनि उनलाई छैन भन्ने नेपाली काँग्रेसको आफ्नो ठम्याइ हो ।’

महामन्त्री थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज प्रदेश, स्थानीय, संघको चुनाव गर्नुपर्थ्यो । यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो । आज जुन मुद्दाहरूमा चुनाव लडिँदैछन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन । त्यसकारण यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ पनि हो ’

महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको पनि बताए ।  उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेससँग रहेको पनि स्पष्ट पारे ।

थापाले भने, ‘यो पटक हामीले काँग्रेसका साथीहरुलाई भनेका छौँ, अबको ५ वर्ष गएको ५ वर्ष जस्तो हुँदैन । नेपाली काँग्रेसबाट निर्वाचित भएर आएका साथीले एउटा श्रोत साधन पनि तपाईले अपचलन गर्न पाउनुहुन्न् । कुनै पनि ठाउँमा विधि मिचेर तपाईले आफ्नो मनलाग्दी पाराले श्रोत साधनको दुरुपयोग गर्न पाउनुहुन्न । यो सबै कुरामा तपाईको जवाफदेहीता रहनुपर्छ भन्ने ढंगबाट हामीले हाम्रा उम्मेदवारहरूलाई भनिरहेका छौं ।’

महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टी पङ्क्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको समेत बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us