जितनारायण श्रेष्ठले पुष्पकमल दाहाललाई पाँच वर्षअघिको जस्तो धोका नदिन आग्रह
तस्वीर:कान्तिपुर
काठमाडौँ — कांग्रेस चितवनका निर्वतमान सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पाँच वर्षअघिको जस्तो धोका नदिन आग्रह गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा सोझो भएकाले जे भन्यो त्यै मान्ने गरेको तर दाहालले भने विगतमा धोका दिएको बताए ।
सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले भने, ‘आदरणीय पुष्पकमल दाहालज्यूलाई भन्नैपर्छ हाम्रो पार्टीको सोझो सभापतिलाई, हाम्रो पार्टीको सोझो सभापति जे बोल्छ त्यै गर्नुहुन्छ । भोलिका दिनमा हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस् । जे प्रतिबद्धता आजभन्दा पाँच वर्षपछि यहाँ आएर गरेका थियौं, तीन महिनापछि टुट्यो ।’
पार्टी नेतृत्वले निर्णय नगरेसम्म भरतपुरको मेयरका लागि पार्टीभित्र संघर्ष गरेको स्मरण गर्दै अब केन्द्रीय नेतृत्वबाट भएको निर्णय कार्यान्वयन गर्न आफूहरू लाग्ने श्रेष्ठको भनाइ थियो । उनले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता जगन्नाथ पौडेललाई पार्टी निर्णयमा लाग्न आग्रह गरे ।
श्रेष्ठले रेनु दाहाल नेतृत्वको गठबन्धनको टिमलाई जिताउन नेतृत्वको निर्देशनअनुसार लाग्ने पनि बताए । ‘ सेनापतिले निर्देशन गर्यो, सेनापतिको निर्देशन मानिन्छ । यो गठबन्धनलाई हराउने तागत कसैले राख्दैन,’ उनले भने ।
चितवनमा माओवादी अध्यक्ष दाहालकी छोरीलाई मेयरको उम्मेदवारमा कांग्रेसले सहयोग गर्न नसक्ने भन्ने कांग्रेस नेतामध्येका श्रेष्ठ अग्रस्थानमा थिए । उनले विगतमा दाहालको चर्को आलोचना गर्दै आएका थिए । भरतपुरमा गठबन्धनबाट माओवादीकी दाहाल मेयरको उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेदवार बनेका छन् ।
