विप्लव नेतृत्वको नेकपा विभाजित
फोटो; Wikipidea
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।
महासचिव विप्लवले आफुहरु पार्टीमा यस्तो नहोस् भन्ने चाहँदा चाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘तथापि हामी सबै पार्टी पङ्क्तिलाई बाह्रौं पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं’, विप्लवले भनेका छन् ।
