कर्णालीमा औलो: ३२ जना बिरामी, छ स्थान उच्च जोखिममा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : अनलाइनखबर

कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ।

आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।

स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन्।

मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन्। 

कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ।

प्रदेशमा सबभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन्। हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन्।

मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीवीका विभिन्न जातहरूबाट हुने गर्दछ ।  ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन्।

मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवी रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन्।

औलो रोगका परजीवी भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरू देखा पर्दछन्।

निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ।

निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए।

नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।

‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us