एसइई परीक्षाको सबै तयारी पूरा

एसइई परीक्षाको सबै तयारी पूरा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं, ८ वैशाख । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए ।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उनले बताए । अध्यक्ष शर्माले भने, “यस वर्ष एक महिना ढिलो गरी परीक्षा सुरु हुँदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तलमाथि हुनसक्ला, यद्यपि बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ । रासस

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us