तीन वर्षको लागि सहमति गर्न ड्राफ्ट नै तयार भएको थियो : एनआरएनए अध्यक्ष आचार्य

३ वर्षs अगाडि

जीएनएन

blank

बार्सिलोना- गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले संघमा तीन बर्षको अवधिका लागि सहमति हुने गरि ड्राफ्ट नै तयार भईसकेको खुलासा गरेका छन् । आफ्नो सम्मानमा एनआरएनए स्पेनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘आज म स्पेनबाट नै खुलासा गर्न चाहन्छु। हामीले तीन बर्षका लागि सहमति गरौँ भनेर ड्राफ्ट पनि लेखेका थियौं। तर त्यसो गरेनौं,’ उनले भने,’ संसारभर एनसीसीहरुको भविष्यबारे सोच्यौं। हाम्रो कारणले एनसीसीको अधिवेशनहरु नविगारौ।

त्यसैले सन् २०२५ सम्मका लागि सहमति हुँदाहुँदै पनि डेढ बर्ष नै मिलेर काम गर्ने निधो गरेका हौ।’ छोटो समयमा पनि काम गर्न सकिन्छ भनेर प्रमाणित गर्नुपर्ने चुनौती आफूहरुको काँधमा आएको आचार्यले बताए। ‘म फेरि पनि तपाईहरुसँग माफि माग्दै के अनुरोध गर्न चाहन्छु भने यो अप्ठारो परिस्थितिमा तपाईहरुको पनि सकारात्मक सुझाव सहित उर्जंनशिल सहयोगको खाँचो छ,’ उनले भने।

विगतमा भएका गल्तीहरुबाट पाठ सिकेर अगाडी बढ्ने उनले बताए। दशौं अन्तर्राष्ट्रिय महाधिवेशन पछि स्पेन आएका आचार्यले भने, ‘ मैले गल्ती गरें होला। छातीमा हात राखेर माफ माग्न तयार छु। मैले विगतमा गरेका सवै कमीकमजोरीहरुलाई यहाँ कोट्याउन चाहन्न। तर त्यहाँबाट पाठ सिकेर अगाडी बढ्न स्पेनबाट सम्पूर्ण गैरआवासीय नेपालीहरु माझ सन्देश दिन चाहन्छु।’

अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले तीन अध्यक्षसहित जम्बो पदाधिकारी टिमबारे प्रश्न उठाएपछि अध्यक्ष आचार्यले विशेष परिस्थितिमा नयाँ अभ्यासको थालनी भएको बताए। ‘अहिलेको जम्बो पदाधिकारीहरुको संख्या देख्दा यो गाईजात्रा हो भन्ने कतिपयलाई लाग्न सक्ला। तर हामीलाई अप्ठ्यारोमा जुध्ने चुनौती हो भन्ने लागेको छ,’ उनले भने, ‘अप्ठारो परिस्थितिमा जम्बो कमिटीलाई मिलाएर काम गर्न सक्यौ भने एउटा नयाँ अभ्यास पनि हुन सक्छ। त्यसैले हामीले अबको समय कामतिर नै ध्यान केन्द्रित गर्ने प्रण गरेका छौ।’ प्रमुख संरक्षक, संस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षहरुसहितको उच्चस्तरीय संयन्त्रमार्फत समस्या समाधान हुने बिश्वास नेतृत्वका आकांक्षीहरुलाई लागेको भएपनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको उनले बताए। ‘ उच्चस्तरीय संयन्त्रमार्फत समस्या समाधान हुने विश्वास थियो तर त्यसो हुन सकेन। नभईसकेपछि नै हामीले एउटा आम सहमति गरेका हौं।’ आचार्यले भने, ‘तर म के अनुरोध गर्न चाहन्छु भने कसैको व्यक्तिगत नियतले संस्थामा आँच नपुगोस्। अझै पनि सबै एकै ठाउँमा उभिनुको विकल्प छैन।’ नेपालका राजनीतिक दलहरुले आफूहरु फुट्ने र जुट्ने गरेको बताउंदै एनआरएनलाई त्यसो नगर्न सुझाव दिएको अध्यक्ष आचार्यले स्मरण गरे। ‘एनआरएनलाई एकजुट पार्न सबै दलहरुले भूमिका रह्यो। हामीले जे गरेका छौं तपाईहरुले त्यो नगर्नुहोस् भन्दै दलका नेताहरुले सुझाव दिनुभएको हो।’ अहिलेको एनआरएनलाई सबै राजनीतिक दल लगायत नेपाल सरकारको सहयोग र साथ रहेको पनि उनले प्रष्ट पारे।

दशौं अन्तर्राष्ट्रिय महाधिवेशन पछि नै एनआरएनएनले विभिन्न क्षेत्रमा सकारात्मक छनक दिईसकेको भन्दै अब काम गरेर नै संस्थाको उचाई माथि पुर्याउने आचार्यको दावी रहेको छ। संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट तीन जना अध्यक्ष रहने गरी एनआरएनको नेतृत्वमा आचार्यसंगै डा. बद्री केसी र रविना थापा पनि चुनिएका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us