नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थाले

नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थाले

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ। 

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ।

सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ।

विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए। 

उनले भने, ‘कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउने क्रम बढ्नेछ।’

यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ। 

विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड-१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा नेपालमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहनेछ। 

नेपाल भ्रमणमा आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएपछि उनीहरुको सहजताका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन समेत आग्रह गरेको छ। 

पर्यटकको संख्या बढ्दै गएको र विमानस्थलमा राखिएका विद्युतीय कारोबार गर्ने सफ्टवयरले काम नगर्दा विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us