मकवानपुरका अधिकांश स्थानीय तहबाट एमालेको उम्मेदवार सिफारिस
मकवानपुरका अधिकांश स्थानीय तहबाट एमालेको उम्मेदवार सिफारिस
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुको उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएको छ । जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये एमालेले ९ वटा पालिकासहित १०२ वटै वडाको उम्मेदवारको सिफारिस प्रक्रिया टुङ्ग्याएको हो ।
एमालेले बागमती, बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, कैलाश र राक्सिराङ गाउँपालिकाको उम्मेदवार सिफारिस सकिएको जनाएको छ । सँगसँगै हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिस पनि सकिएको छ । एमालेले मकवानपुरको मनहरी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु भने टुङ्ग्याउन सकेको छैन ।
मनहरीमा आकांक्षीहरु बढी हुँदा उम्मेदवार सिफारिस प्रक्रिया अल्झेको हो । एमाले मनहरी गाउँपालका कमिटी अध्यक्ष नविन सुवेदीका अनुसार पालिका प्रमुख र उपप्रमुखसहितका पदहरुमा सर्वसम्मत उम्मेदवार चयन गर्ने तयारी रहेकाले सिफारिस प्रक्रिया अल्झेको हो ।
उनले केही दिनभित्रै सर्वसम्मत रुपमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको विषय टुङ्ग्याएर माथिल्लो कमिटीमा सिफारिस गरिने बताए ।
एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्ष बन्नका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका छन् । बहालवाला अध्यक्ष एकराज उप्रेती, एमाले गाउँपालिका कमिटी अध्यक्ष नवीन सुवेदी, बागमती प्रदेश कमिटी सदस्य श्यामसुन्दर ढकाल, मनहरी वडा नम्बर–७ का अध्यक्ष दिलबहादुर स्याङ्तान र जयराम अर्यालले आकांक्षा देखाएका छन् ।
यता पालिका उपाध्यक्षमा भने ४ जना आकांक्षी रहेका छन् । एमालेबाट सुजिता थिङ, गीता प्रजा, विमला कार्की र पम्फा रोक्का आकांक्षी देखिएका छन् ।
२०७४ को निर्वाचनमा मनहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । पालिका अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका एकराज उप्रेतीले जितेका थिए भने उपाध्यक्षमा एमालेकी मनिला विष्टले जितिन् । उपाध्यक्ष विष्ट हाल एकीकृत समाजवादीमा आबद्ध छिन् ।
हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ३ जनाको नाम सिफारिस भएको छ । यस्तै उपमेयरमा पनि ३ जनाको नाम सिफारिस भएको छ । बहालवाला मेयर हरिबहादुर महत, संविधान सभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई मेयर पदको उम्मेदवारका लागि सिफारिस गरिएको हो । यसैगरि उपमेयरका लागि सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्रप्रसाद नेपालको नाम सिफारिस भएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा दुबैमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।
माओवादी केन्द्र र काँग्रेसको गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा मीनाकुमारी लामाले चुनाव जितेका थिए । उपमेयर लामा हाल एकीकृत समाजवादीमा आवद्ध छिन् ।
बकैया गाउँपालिका
एमालेले मकवानपुरको बकैया गाउँपालिकाबाट अध्यक्षमा पाँच जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा बहालवाला उपाध्यक्ष सरला बोलखे, पद्मा पौडेल, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई र गोपाल दाहालको नाम सिफारिस गरेको हो । सिफारिसमा परेकी पौडेल मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालकी धर्मपत्नी हुन् ।
बैठकले पालिका उपाध्यक्ष पदमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमी लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ । २०७४ को स्थानय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्ष पदमा काँग्रेसका दामोदर खनाल विजयी भएका थिए भने पालिका उपाध्यक्षमा एमालेकी सरला बोलखेले जितेकी थिइन् ।
थाहा नगरपालिका
एमाले थाहा नगरपालिका कमिटीको बैठकले नगर प्रमुख र उपप्रमुख पदका लागि दुई/दुई जना सिफारिस गरेको छ । प्रत्यासी उम्मेदवारहरुबीच गाउँपलिका बैठकको छलफलबाट सहमति जुट्न नसकेपछि उम्मेदवार टुङ्ग्याउन पालिका सहजकर्ताहरुलाई जिम्मेवारी दिन सहमति भएको थियो । सहजकर्ताहरुको बैठकले उम्मेदवारको विषय टुङ्ग्याएको थियो ।
थाहा नगरपालिकाको प्रमुख पदका लागि एमालेले बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गरेको छ । यसैगरी उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा थाहा नगरपालिकामा एमाले विरुद्ध काँग्रेस माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । सो निर्वाचनमा गठबन्धनका तर्फबाट थाहा नगरपालिकाको मेयरमा मााअेवादी केन्द्रका लवशेर विष्ट र उपमेयरमा खड्ग गोपालीले चुनाव जितेका थिए ।
भीमफेदी गाउँपालिका
यसैगरी भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा पुरानै उम्मेदवारहरुलाई दोहो¥याउने भएको छ । एमाले भीमफेदी गाउँपालिका कमिटीको बैठकले पालिका अध्यक्ष र उपाध्यक्षमा वहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्षमा पार्वती रानालाई नै उठाउने निर्णय अनुसार माथिल्लो कमिटीमा उनीहरुको नाम सिफारिस गरेको हो ।
२०७४ को स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै एमालेका उम्मेदवार लामा र राना विजयी भएका थिए ।
राक्सिराङ गाउँपालिका
एमालेले राक्सिराङ गाउँपालिकामा अध्यक्षमा बाबुलाल स्याङ्तानलाई उम्मेदवार उठाउने भएको छ । एमाले राक्सिराङ गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा स्याङ्तानलाई उम्मेदवार बनाउने निर्णय अनुसार उनको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले उपाध्यक्षमा सुन्तलीमाया प्रजालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी नाम सिफारिस गरेको छ ।
राक्सिराङ गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार पराजित गर्दै दुबै पदमा काँग्रेसका उम्मेदवारले जित हात पारेका थिए । सो निर्वाचजमा राक्सिराङको अध्यक्षमा काँग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा निर्मला हिम्डुङले जितेकी थिइन् ।
बागमती गाउँपालिका
यस्तै एमालेले मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा चार जना सिफारिस गरेको छ । एमाले बागमती गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सिनालाई सिफारिस गरेको हो ।
त्यस्तै बैठकले उपाध्यक्ष पदमा बहालवाला उपाध्यक्ष धनमाया स्याङतान, गोपीकुमारी फुँयाल, राधिका तिमल्सिना, सर्मिला विक र सविना योञ्जनलाई सिफारिस गरेको छ ।
२०७४ को निर्वाचनमा बागमती गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका सर्केश घलानले चुनाव जितेका थिए । पालिका उपाध्यक्षमा भने एमालेकी स्याङ्तानले माओवादी केन्द्रकी उमेदवारलाई हराउन सफल भइन् ।
इन्द्रसरोवर गाउँपालिका
यस्तै इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण पुडासैनीलाई उम्मेदवार बनाइने भएको छ । एमाले इन्द्रसरोवर गाउँपालिका कमिटीको बैठकले पुडासैनीलाई सर्वसम्मत् रुपमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय अनुसार नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले पालिका उपाध्यक्ष पदका लागि उम्मेदवार टुङ्ग्याउन सकेको छैन । आकांक्षी भने धेरै भएकाले बैठकले उम्मेदवार टुङ्ग्याउन लगाउन नसकेको हो ।
२०७४ को निर्वाचनमा इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले जित हात पारेका थिए । अध्यक्ष पदमा काँग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका जिवन लामाले जितेका थिए भने उपाध्यक्ष पदमा पनि काँग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी उमाकुमारी लामाले चुनाव जितेकी थिइन् । एमालेबाट पालिका अध्यक्ष जितेका लामा हाल एकीकृत समाजवादीमा आवद्ध रहेका छन् ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बहालवाला अध्यक्षलाई नै अवसर दिइने भएको छ । एमाले मकवानपुरगढी गाउँपालिका कमिटीको बैठकले बहालवाला पालिका अध्यक्ष विदुर हुमागाईं नै आगामी निर्वाचनमा उम्मेदवार उठाउने निर्णय अनुसार नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले पालिका उपाध्यक्ष पदमा भने एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।
पालिका उपाध्यक्ष पदमा एमालेले सन्तु थिङलाई उमेदवार उउने निर्णय अनुसार नाम सिफारिस गरेको छ । २०७४ कोे स्थानीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । पालिका अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई हराउँदै हुमागाईले जितेका थिए भने उपाध्यक्ष पदमा पनि काँग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी हर्कमाया रुम्बाले जितेकी थिइन् ।
कैलाश गाउँपालिका
यस्तै कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि ५ जनाको नाम सिफारिस गरिएको छ । एमाले कैलाश गाउँपालिका कमिटीको अध्यक्षका लागि बहालवाला उपाध्यक्ष सुकुमाया थिङसहित श्याम उप्रेती, नरेन्द्रलाल रिजाल, बुद्धिबहादुर मोक्तान र सुजिता कार्कीको नाम सिफारिस गरिएको हो ।
त्यस्तै बैठकले पालिका उपाध्यक्ष पदका लागि पनि ५ जनाको नाम सिफारिस गरेको छ । पालिका उपाध्यक्ष पदका लागि पविना गुरुङ, राजकुमार बल, अर्जुन बर्तौला, तारा थिङ र महेश चेपाङको नाम सिफारिस गरिएको हो ।
२०७४ को निर्वाचनमा कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले जितेका थिए । पालिका अध्यक्षमा एमालेका टंक मोक्तानले जितेका थिए भने उपाध्यक्षमा सुकुमाया थिङलृ जितेकी थिइन् । अध्यक्ष मोक्तान हाल एकीकृत समाजवादीमा आवद्ध रहेका रहेका छन् ।
उम्मेदवार टुङ्ग्याउन छनौट समिति
यसैबीच एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको विषय टुङ्ग्याउन छनौट समिति बनाएको छ । एमाले मकवानपुरको गत बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको विषय टुङ्ग्याउन छनौट समिति बनाएको हो ।
बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिव हिदम लामा र सिता विष्ट रहने छन् ।
छनौट समितिले सबै पालिकाबाट आएको उम्मेदवारहरूको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरूको सर्वसम्मत उम्मेदवारहरूलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मेवारी पाएको छ ।
त्यस्तै सो समितिले पार्टीको हेटौंडा उपमहानगरपालिकाबाट सिफारिसमा परेका उम्मेदवारहरूको विवरण प्रदेश कमिटीमा पठाउने छ भने छनोट गरेको उम्मेदवारहरूको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको छ । जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरूको छनोट गरि अनुमोदन गर्ने काम केही दिनमा नै सम्पन्न गर्ने एमाले मकवानपुरको तयारी रहेको छ ।
