नेपाली नयाँ बर्ष २०७९ : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा द्वारा शुभकामना
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना दिदै उनले हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएकी हुन् ।
ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने राष्ट्रपति भण्डारीको भनाइ छ ।
जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन संघीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा उनले आह्वान गरेकी छन् ।
वैशाख तीस गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि राष्ट्रपति भण्डारीले आह्वान गरेकी छिन् ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न आग्रह गरेका छन ।
नयाँवर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको बताएका हुन् ।
मुलुकको साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने शुभकामना सन्देशमा उल्लेख छ ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धि को आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने कामना समेत गरेका छन् ।
काठमाडौं । बिहीबारदेखि नयाँ वर्ष २०७९ शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । यस दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नयाँ वर्ष आरम्भका अवसरमा बिहीबार नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ ।
