एनआरएनए आइएस बैठकको तयारी : अधिकांश पदमा भागवण्डा गरिने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तरराष्ट्रिय कार्यकारी सचिवालय (आइएस) बैठकले मनोनयन भागबण्डामा टुंग्याउने लगभग निश्चित भएको छ । फुटको संघारबाट जोगिएको एनआरएनएमा तीन अध्यक्षहरु कुल आचार्य, रवीना थापा र डा. बद्री केसीविच नियुक्तीमा बागवण्डाको तयारीका लागि घनिभुत छलफल भएको हो । स्रोतका अनुसार जम्बो कार्यसमितिमा छलफल गर्दा गन्जागोल हुने देखिएकाले दुई महासचिव र तीन अध्यक्ष बिच भागवण्डा गरेर अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यहरुको मनोनयन गरिनेछ ।
आइएस बैठकमा संरक्षकहरु, सल्लाहकारहरु र मानार्थ सदस्यहरु र आइसीसी सदस्यहरु मनोनयन गरि चार एजेण्डा माथि छलफल र निर्णय हुने जानकारी सचिवालयले सबैलाई दिएको छ । प्रमुख संरक्षकमा संस्थापक अध्यक्ष उपेन्द्र मह्तो, संरक्षकहरुमा पुर्व अध्यक्षहरुबाट जीबा लामिछाने, भवन भट्ट, देवमान हिराचन र कुमार पन्त रहने छन । त्यसवाहेक संघ जोगाउन महत्वपुर्ण भुमिका खेलका राम प्रताप थापा, संस्थापक मध्येबाट भीम उदास र चिरन्जीवि ढकाललाई समेट्ने स्रोतले दावी गरेको छ । तर, एनआरएनए विधानको परिच्छेद ६ को धारा १६ अनुसार एक जना प्रमुख संरक्षकसहित पाँच जना संरक्षक रहेको संरक्षक परिषद गठन गर्ने प्रावधान छ । यसपटक विधानका कतिपय धाराहरु ‘सस्पेन्ड’ गरिएकाले संरक्षक परिषद्मा संस्थापकहरुलाई ल्याउनु पर्नेमा धेरैले लविङ गरिरहेको एनआरएनए स्रोतले बतायो ।
त्यसैगरी, संघको सल्लाहकारमा २१ जना मध्ये अधिकांश सल्लाहकार दोहोरिने तयारीमा रहेका छन । फेरी पनि सल्लाहकारमा मनोनयन गर्न पुरानाहरुले नै लविङ गरिरहेको बताइन्छ ।

सबै भन्दा बिवाद आइसीसी सदस्य मनोनयनमा हुने देखिन्छ । २१ जना मध्ये अध्यक्षले १५ जना मनोनयन गर्न पाउने विधानले अधिकार दिएको छ । तीन अध्यक्षले पाँच/पाँच जना भागवण्डा गरि सिफारिस गर्ने र वाँकी ६ आइएसले निर्णय गर्ने बताइन्छ । तर, तीन जना अध्यक्षहरुलाई आफुलाई निर्वाचनमा सहयोग गरेका धेरै व्यक्तिहरु समेट्नु पर्ने बाध्यता छ ।
संरक्षकमा अट्न नसकेकालाई सल्लाहकारमा, सल्लाहकार मनोनयन पर्न नसकेकालाई आइसीसीमा र त्यहाँ पनि समेट्न नसकेकालाई मानार्थ सदस्यमा थन्क्याउने संभावना रहेको एनआरएनए स्रोतले बतायो । विधान तह मानार्थ सदस्यहरु ५१ जना रहने व्यवस्था भएपनि पुर्व अध्यक्ष कुमार पन्तले १२५ जनालाई मनोनयन गरेका थिए ।
बैठकमा एनआरएनए अभियानलाई सहयोग गर्न मिडिया टिम गठनको हल्ला भए पनि ९ अप्रिलमा बस्ने आइएसको बैठकको एजेण्डामा राखिएको छैन ।

© 2022 All Right Reserved DiasporaNepal