फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति?(सूचीसहित)
काठमाडौँ – सरकारले सार्वजनिक सवारी साधनको भाडा १५ प्रतिशतसम्म बढाएको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ।
पहाडमा मालवाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। यात्रुवाहक तथा मालवाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरिएको छ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो। संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरूले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनेछन् । भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छन् ।
अब गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरवललोकन गरेर भाडा समायोजन हुनेछ। सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो। तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो।
नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। अब प्रदेशले पनि यसैअनुसार भाडा समायोजन गर्नुपर्ने उनको भनाइ छ।
डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए।
२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ। असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ थियो। पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।
२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत र अन्य पार्टपुर्जासहित अन्य पक्षको ६५ प्रतिशत छ।
कुन रुटमा कति पुग्यो भाडा ?
