कांग्रेसले खड्कालाई बनायो चुनावी कमाण्डर
काठमाडौँ – नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकेको छ । स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले खड्कालाई ‘स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति’को संयोजक तोकेको हो ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार समितिमा थप सदस्य सभापति शेरबहादुर देउवाले नियुक्त गर्नेछन् ।
त्यस्तै कांग्रेसले वैशाख ३० गते हुने चुनावको प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता महतलाई जिम्मेवारी दिएको छ । कांग्रेस बैठकले स्थानीय परिस्थिति र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय पनि गरेको छ।
पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने उद्देश्यले कांग्रेसले स्थानीय तहका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग चुनावी तालमेल गर्ने औपचारिक निर्णय लिएको हो।
